काठमाडौं । किराँतहरूको महान् पर्व उँभौलीको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संविधानको कार्यान्वयनमा दृढतापूर्वक अगाडि बढिरहेको बताएका छन् ।
शुक्रबार शुभकामना दिँदै उनले संविधानमा सबै वर्ग, जाति, क्षेत्र, लिंग र समुदायको पहिचान र अधिकारको संवैधानिक व्यवस्था रहेकाले सोही व्यवस्था भएबमोजिमका अधिकारको प्रगतिशील कार्यान्यवन आजको मुख्य दायित्व भएको जनाए । उनले जनअधिकार स्थापित गर्ने सरकारको यस प्रयासमा सम्पूर्ण जनसमुदायको साथ र सहयोग रहने विश्वास व्यक्त गरेका छन् ।
उँभौली पर्व नेपालजस्तो कृषिप्रधान मुलुकका लागि थप प्रेरणादायी र सन्देशमूलक रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले प्रकृतिलाई खुसी तुल्याएर भूमिबाट बढीभन्दा बढी लाभ लिने परम्परा संस्कृतिका दृष्टिले मात्र नभएर समृद्धि र विकासको चेतबाट समेत वैज्ञानिक र प्रगतिशील देखिएको बताए । उधौली पर्व किरात समुदायका साथै उत्पादनशील चेतका समस्त नेपालीहरूको समेत पर्वको रूपमा स्थापित हुँदै गएको उनको भनाइ छ ।
प्रधानमन्त्री दाहालले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त स्वाधीन र समुन्नत मुलुक रहेको भन्दै नेपाली चाडपर्व, वेशभूषा, संस्कार–संस्कृतिहरू राष्ट्रिय एकताका सेतुमात्र नभएर समुन्नत नेपाल निर्माणका आधारशीलासमेत भएको बताए ।
प्रधानमन्त्री दाहालले स्वदेश तथा विदेशमा रहेका किराँत समुदायलगायत सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, दीर्घायु र समृद्धिको शुभकामना व्यक्त गरेका छ । साथै उनले उँधौली पर्वले समान अधिकारका साथ सबै वर्ग, जाति, लिङ्ग र समुदायको भाषा, कला, संस्कृतिको संरक्षण र प्रवर्द्धनसहित राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सकोस् भनी कामनासमेत गरेका छन् ।