काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत बेतौना–विराटनगर सडक खण्डको काम नगर्ने निर्माण कम्पनीलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कारबाही अघि बढाउन निर्देशन दिएका छन् ।
सडक विभाग र इटहरी कार्यालयका आयोजना प्रमुखलाई मन्त्री ज्वालाले टेलिफोन गरी तत्काल निर्माण कम्पनीलाई कारबाही गर्न निर्देशन दिएको हो । उनले समस्या तत्काल समाधान गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
विराटनगर देखि बेतौनासम्मको झन्डै १८ किलोमिटर सडक निर्माणका लागि सञ्चालित दुई ठेक्काको निर्माण एक महिनादेखि ठप्प भएको छ । इटहरी कार्यालयले निर्माण रोकिएपछि निर्माण व्यवसायीलाई लिखित पत्राचार गरिसकेको छ । निर्माण सम्पन्न गर्ने गरी तत्काल काम अघि नबढाए निर्माण व्यवसायीलाई सार्वजनिक खरिद ऐन, नियमावली तथा ठेक्का सम्झौताका सर्तबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने आयोजनाले जनाएको छ ।
सो खण्डको हुलाकी राजमार्गको निर्माण रोकिएको विषयमा विगतदेखि नै जनप्रतिनिधिले चासो देखाउँदै आएका छन् । अहिले निर्माण कम्पनीले काम ठप्प गरेपछि सङ्घीय सांसद, प्रदेशसभा सदस्य र पाँच स्थानीय तहका जनप्रतिनिधिले शुक्रबार पत्रकार सम्मेलन गरेका थिए ।
इटहरी योजनाको कार्यक्षेत्रमा झापा, मोरङ, सुनसरी र सप्तरी गरी चार जिल्ला हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गतको छन् । जम्मा ४४ किमी खण्डमा पाँच ठेक्का लगाइएकोमध्ये हालसम्म २० किमी सडकमा कालोपत्र भइसकेको छ ।