काठमाडौं । पर्यटकहरु चढेको डुंगा भारतको केरलामा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । गएराति मलमपुरम जिल्लाको तानुर इलाकामा थुवलथिरम समुद्री तट नजिक डुंगा दुर्घटना भएको हो ।
सो डुंगामा ४० जना सवार थिए । छुट्टीमा घुम्न आएकाहरु दुर्घटनामा परेको र दुर्घटनास्थलबाट २१ वटा शव बाहिर निकालिएको केरला राज्यका एकजना मन्त्री वी अब्दुराहमानले जानकारी दिएका छन् । मृत्यु हुनेमा धेरैजसो बालबालिकाहरु रहेका छन् ।
गएरातिदेखि सोमबार बिहानसम्म पनि दुर्घटनास्थलमा खोज तथा उद्धार कार्य जारी छ । मुख्यमन्त्री विजयनले पूर्व निर्धारित सबै कार्यक्रमहरु रद्द गरेर सोमबार बिहान दुर्घटनास्थलको भ्रमण गर्दैछन् ।
प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र केरलाका मुख्यमन्त्री पिनराई विजयनले घटनाप्रति दुःख व्यक्त गरेका छन् । साथै सरकारले मृतकका परिवारलाई दुई लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने घोषणा गरेको छ ।