काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौंले अहिलेसम्म ८ जनालाई पक्राउ गरिसकेको छ।
पहिलो पटक पक्राउ परेका अभियुक्तहरूको हिरासत बसाइका आधारमा अब प्रहरीसँग यो प्रकरणमा अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयमा मुद्दा लैजान १५ दिन बाँकी रहेको छ ।
सांसदसमेत रहेका एमाले सचिव टोपबहादुर रायमाझी, इन्द्रजित राईका छोरा निरज राई, पूर्वगृहमन्त्री बादलका छोरा प्रतीक थापाविरूद्ध पक्राउ पुर्जी जारी भए पनि उनीहरू फरार छन्।
पूर्वगृहमन्त्री रामबहादुर थापा 'बादल' का सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेकपा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, पूर्व गृहसचिव टेकनारायण पाण्डे, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा र सागर राई अहिले प्रहरी हिरासतमा छन्।
प्रहरीले सांसदसमेत रहेका रायमाझीलगायत फरार व्यक्तिहरूको पनि खोजी गरिरहेको छ। रायमाझी भारत भागेको आशंकामा केन्द्रीय अनुसन्धान ब्युरोको टोली नै परिचालन भएको छ। विभिन्न व्यक्ति संलग्न रहेको गिरोहले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर करोडौं रकम असुल गरेको आरोप छ। झापा, मोरङ, दाङ लगायत विभिन्न जिल्लाका व्यक्तिहरूबाट रकम असुल गरेको अनुसन्धानबाट खुलेको छ।
सरकारले भुटानी शरणार्थीको पहिचान गर्न भनेर २०७६ साल जेठ ३० गते गृहमन्त्रालयका सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। उक्त कार्यदलको प्रतिवेदनमा नक्कली भुटानी शरणार्थीको नामसमेत उल्लेख गरेको पाइएको छ ।