काठमाडौं । प्रहरीले ‘जरुरी पक्राउ पूर्जी’ थमाएर पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई मैजुबहालस्थित घरबाट पक्राउ गरेको खुलासा भएको छ । अदालतबाट पक्राउ पूर्जी जारी गरेर खाँणलाई नियन्त्रणमा लिँदा सूचना बाहिर आएर भाग्न सक्ने स्थिति देखेपछि उनलाई जरुरी पक्राउ पूर्जी दिएर पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले बताएको छ ।
मंगलबार मात्रै खाँण बुटवलबाट काठमाडौं आएका थिए । प्रहरीका अनुसार नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै असुली गरेको गिरोहलाई नीतिगत निर्णय गराउन खाँणले सहयोग गरेका थिए । खाँणलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त टोली खटिएको थियो ।
जडिबुटीबाट उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरु दुवै जनालाई बुधबार जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराउने प्रहरीले जानकारी दिएको छ । ‘अदालत लगेर हिरासतमा राख्न अनुमति लिन्छौं’, जिल्ला प्रहरी परिसर काठमाडौंका एक उच्च अधिकृतले भने ।