काठमाडौँ । भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर अमेरिका पठाउने धन्दामा संलग्न रहेका ललितपुर महानगरपालिका वडा नम्बर–२३ का स्थानीय सानु भण्डारी अहिले थुनामा छन् । तिनै भण्डारीको बयानको आधारमा पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका हुन् ।
महालक्ष्मी नगरपालिका–४ स्थित सितापाखा हाइटमा बस्दै आएका भण्डारीले टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीको नाम पनि बयानमा खुलाएका थिए । उनकै बयानको आधारमा सन्दीप पक्राउ परेका छन् । एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।
भण्डारीले तत्कालीन गृहमन्त्री खाणलाई मन्त्रालयमा गएर पैसा बुझाएको प्रहरीलाई बयान दिएका थिए । उनले प्रहरीसँगको बयानमा भनेका छन्– ‘बालकृष्ण खाण र टेकनारायण पाण्डेलाई एकमुष्ट १ करोड २५ लाख मन्त्रालयमै लगेर पैसा बुझाएका थियौँ ।’ १ करोड २५ लाख नगद खाण र पाण्डेले लिएको बयानसँगै प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।