काठमाडौं । अपि पावर कम्पनी लिमिटेड र सहिद स्मारक ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडबीच मुख्य प्रयोजकको लागि सम्झौता भएको छ । अपि पावर कम्पनीका कार्यकारी सञ्चालक सञ्जिव न्यौपाने र चर्च ब्वाइज युनाइटेड क्लबका अध्यक्ष टंकलाल राईबीच एक वर्षको लागि मंगलबार सम्झौता भएको हो ।
सम्झौतासँगै अब उक्त क्लबले अपि पावर चर्च ब्वाइज युनाइटेडको नामबाट विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी हुनेछ । क्लबको पूर्वाधार विकास तथा खेलाडीको स्तरोन्नतिको लागि अपि पावर कम्पनीले चर्च ब्वाइज युनाइटेडलाई सहयोग गर्ने जनाएको छ । छोटो समयमा सहिद स्मारक ‘ए’ डिभिजन खेल्न सफल चर्च ब्वाइज युनाइटेडलाई थप उचाइमा पु¥याउन साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा थप सफलता हासिल गर्ने उद्देश्यका साथ सम्झौतामा हस्ताक्षर भएको बताइएको छ ।
नेपालको फुटबललाई नयाँ उचाइमा लैजानुका साथै खेलाडीलाई प्रोत्साहन गरी क्वबको संरचना बलियो बनाउने सहमति भएको छ ।
कम्पनीले खेलकुदको माध्यमबाट मुलुकको आर्थिक एवं सामाजिक रूपान्तरण गर्ने उद्देश्यका साथ आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गतको सहयोग उपलब्ध गराउने भएको हो । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत यस अपि पावर कम्पनी लिमिटेडको हाल दुईवटा जलविद्युत् र दुईवटा सौर्य आयोजनासहित पाँचवटा आयोजना सञ्चालनमा रहेको र ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको निर्माणकार्य अन्तिम चरणमा रहेको छ ।
नेपालको ऊर्जा क्षेत्रको प्रख्यात संस्था अपि पावर कम्पनी लिमिटेडले देशमा प्रशस्त मात्रामा उपलब्ध पानी र नवीकरणीय स्रोतको उपयोग गरी विद्युत् उत्पादन गरी देशलाई ऊर्जामा आत्मनिर्भर बनाउने उद्देश्य बोकेको छ । राष्ट्रको एक जिम्मेवार संस्थाको नाताले सामाजिक रूपान्तरण, युवा सशक्तीकरण तथा खेलकुदको दिगो विकासमा अपि पावरले विभिन्न कार्यक्रम तथा सहयोग गर्दै आएको छ ।