काठमाडौं । एकै पटक तीनवटा जीवन बीमा कम्पनी एक–आपसमा गाभिएर एकीकृत कारोबार सुरु गरेका छन् । प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सले मर्जरसम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरी मंगलबारदेखि एकीकृत कारोबार सुरु गरेका हुन् । ती कम्पनीहरूले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाउँबाट एकीकृत कारोबार सुरु गरेका हुन् ।
मर्जरको लागि तीनवटै कम्पनीहरूबीच १ः१ः१ को अनुपातमा स्वाप रेसियो कायम भएको थियो । मर्जरपश्चात् बनेको हिमालयन लाइफको चुक्ता पुँजी सात अर्ब ७२ करोड ३१ लाख रुपैयाँँ पुगेको छ । चुक्ता पुँजीको आधारमा यो कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पछिको दोस्रो ठूलो बीमा कम्पनी बनेको छ । एकीकृत कारोबारका लागि नेपाल बीमा प्राधिकरणले वैशाख १३ गते अनुमति दिएको थियो । यस्तै नेपाल धितोपत्र बोर्डले वैशाख १९ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले वैशाख २० गते अन्तिम स्वीकृति प्रदान गरेका थिए ।