काठमाडौं । थप दुई बीमा कम्पनीहरूले मर्जरमा जाने प्रस्ताव पारित गरेका छन् । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र अजोड इन्स्योरेन्स लिमिटेडले एक–आपसमा गाभ्ने÷गाभिने प्रस्ताव विशेष साधारणसभाबाट पारित गरेका छन् । सोमबार सम्पन्न दुवै कम्पनीको छुट्टाछुट्टै विशेष साधारणसभाले दुई कम्पनी गाभिएर एक हुने प्रस्ताव पारित गरेका हुन् ।
सोअनुसार युनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लि. तथा अजोड इन्स्योरेन्स लि. एक–आपसमा गाभ्ने/गाभिने र गाभिएपश्चात् बन्ने निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम नेपालीमा ‘युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड’ कायम भई कारोबार गर्ने प्रस्ताव पनि पारित भएको छ । युनाइटेड र अजोड एक–आपसमा गाभ्ने/गाभिने प्रयोजनका लागि मूल्यांकनकर्ता एसआर पाण्डे एन्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्सबाट तयार गरिएको दुवै कम्पनीको चल/अचल सम्पत्ति, दायित्व तथा कारोबार मूल्यांकन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सेयर अनुपात युनाइटेडको एक सय कित्ताबराबर अजोडको साढे ८२ कित्ता कायम गर्नेगरी गाभ्ने/गाभिने कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनिन पारित भएको छ ।
युनाइटेड र अजोड एक–आपसमा गाभ्ने/गाभिने सम्बन्धमा भएका सम्झौताहरूलगायत सम्पूर्ण काम कारबाहीको अनुमोदन गर्ने विशेष प्रस्ताव पनि पारित भएको कम्पनीले जनाएको छ । युनाइटेड र अजोड एक–आपसमा गाभ्ने÷गाभिने प्रयोजनका लागि भएको सम्झौताबमोजिम सोको आवश्यक स्वीकृतिका लागि नियमनकारी निकायमा निवेदन दिने र गाभ्ने/गाभिने कार्यसँग सम्बन्धित प्रचलित कानुन, निर्देशनहरूबमोजिम अपनाउनुपर्ने सम्पूर्ण आवश्यक कार्यहरू एवं प्रक्रियाहरू पूरा गरी अन्तिम स्वीकृति लिने तथा सो सम्बन्धमा नियमनकारी निकायहरूबाट निर्देशन गरेबमोजिमका कागजात तथा विवरणहरू तयार गर्ने, सो उपलब्ध गर्ने र गराउने र गाभ्ने/गाभिने कार्य सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्यहरू गर्न/गराउन सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्न विशेष प्रस्ताव पारित गरिएको कम्पनीले जनाएको छ ।