काठमाडौं । युनिटेक हाइड्रोपावर कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड नियुक्त भएको छ । युनिटेक हाइड्रोपावरले सर्वसाधारणमा बिक्री गर्ने एक सय रुपैयाँँ अंकित दरका ३६ करोड ६७ लाख रुपैयाँबराबरको ३६ लाख ६७ हजार कित्ता साधारण सेयर निष्काशन तथा बिक्रीको प्रबन्ध क्यापिटलले गर्नेगरी हाइड्रोपावर कम्पनी र क्यापिटलबीच सम्झौता भएको हो ।
सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र युनिटेक हाइड्रोपावरकोे तर्फबाट प्रबन्ध सञ्चालक विश्वप्रकाश अमात्यले हस्ताक्षर गरेका छन् ।
युनिटेक हाइड्रोपावरले ताप्लेजुङ जिल्लाको फावाखोला, तिरिङ्गे र सिकैचा गाउँपालिकामा अवस्थित माथिल्लो पावाखोलामा जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । पाँच दशमलव आठ मेगावाट क्षमताको यो आयोजनाको निर्माण कार्य ९० प्रतिशत सकिएको कम्पनीले जनाएको छ ।