गण्डकी । नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा मन्त्रालयको कार्य विभाजन हेरेफेर हुने बताएका छन् । मन्त्रालयको सङ्ख्या भने सातभन्दा नबढ्ने प्रदेश सरकारले प्रष्ट पारेको छ ।
अघिल्लो सरकारले मन्त्रालयको सङ्ख्या १२ बाट घटाएर सातमा झारेको थियो । मन्त्रालय घटाउँदा कार्य विभाजन नमिलेको देखिएकाले केही परिमार्जन गर्न लागिएको उनले बताए ।
“मन्त्रालयको सङ्ख्या सात नै रहन्छ, बढ्दैन, तर नयाँ कार्य विभाजन हुन्छ”, उनले भने, “आज कार्य विभाजन टुङ्गिन्छ, त्यसपछि मन्त्रिपरिषद् विस्तार हुन्छ ।”
गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँटमा सहमति भइसकेकाले अब मन्त्री छान्न र मर्यादाक्रम तोक्न मात्र बाँकी रहेको मुख्यमन्त्री पाण्डेले बताए । “अहिलेलाई माओवादी केन्द्रले दुई मन्त्रालय लिने सहमति भएको छ, एकीकृत समाजवादीलाई पनि मिलाएर लैजानुपर्ने अवस्था छ”, उनले भने । मुख्यमन्त्री पाण्डेले एक/दुई दिनभित्रमै सरकारले पूर्णता पाउने बताए ।