काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र मुक्तिनाथ विकास बैंकबीच एससीटी यूपीआई डेबिट कार्ड सेवा सञ्चालनका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा स्मार्ट च्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।
सम्झौताले नेपालको समग्र डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने विश्वास गरिएको कम्पनीले जनाएको छ । हाल पाँच वाणिज्य बैंक, पाँच विकास बैंक, १२ फाइनान्स कम्पनी र एक सय ५० भन्दा बढी सहकारीहरूले एससीटी यूपीआई डेबिट कार्ड सुविधा आफ्ना ग्राहकलाई दिँदै आएको छ ।
सम्झौतापश्चात् मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले एससीटी यूपीआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्न सक्नेछन् । साथै, युनियन पे इन्टरनेशनल प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा एटीएम, पस, इ–कमर्सजस्ता सेवा सजिलै लिनसक्ने बैंकले जनाएको छ ।