काठमाडौं । पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमाले केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु भएको छ । शुक्रबारको बैठकमा पनि बिहीबार पेस गरिएका प्रतिवेदनमाथि समूहगत छलफल हुने छ । शुक्रबार पाँचौँ बैठक अन्तर्गतको दोस्रो दिनको बैठक सुरु भएको हो ।
बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओली, चार निकाय र नौ प्रदेश कमिटीले छुट्टाछुट्टै प्रतिवेदन पेस गरेका थिए । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बिहीबार पेस गरिएका राजनीतिक र मिसन ग्रासरुट अभियानको समीक्षा प्रतिवेदनमाथि समूहगत छलफल हुने छ । आठ समूहमा केन्द्रीय सदस्यले छुट्टछुट्टै मिसन ग्रासरुट अभियानको समीक्षा गर्ने छन् ।
बागमतीबाट सचिव गोकर्ण विष्ट, गण्डकीबाट सचिव पद्मा अर्याल, सम्पर्क समन्वय कमिटीको प्रतिवेदन स्थायी कमिटी सदस्य तथा इन्चार्ज लालबाबु पण्डित र उपत्यका विशेष प्रदेश कमिटीको प्रतिवेदन पोलिटब्युरो सदस्य तथा इन्चार्ज सुजिता शाक्यले रिपोर्ट प्रस्तुत गर्दैछन् ।
समूहगत छलफलबाट आउने निष्कर्षलाई आधार मानेर प्रदेश कमिटी अध्यक्षले आजै वार्षिक कार्ययोजना प्रस्तुत गर्ने बताइएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा जारी बैठक यही वैशाख ३० गतेसम्म चल्ने छ ।
पाँच प्रदेशका संयोजकहरूले बैठकको पहिलो दिन आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । पहिलो दिन सुदूरपश्चिमबाट सचिव लेखराज भट्ट, कर्णालीबाट सचिव योगेश भट्टराई, लुम्बिनीबाट सचिव छविलाल विश्वकर्मा, मधेशबाट सचिव रघुवीर महासेठ र कोशी प्रदेशबाट स्थायी कमिटी सदस्य तथा इन्चार्ज राजेन्द्र गौतमले प्रतिवेदन प्रस्तुत गरेका हुन् ।