काठमाडौं । धितोपत्र दलाल व्यवसायीहरूको छाता संगठन स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (एसवान)ले नेपाल धितोपत्र बोर्डबाट वितरण गर्न लागिएको स्टक एक्सचेन्जको लाइसेन्स तत्काल रोक्ने सरकारको निर्णयको स्वागत गरेको छ । सरकारले नयाँ स्टकको लाइसेन्स रोक्ने निर्णय गरेलगत्तै संघले विज्ञप्ति जारी गरेर उक्त कार्यको प्रसंशा गरेको हो ।
सरकारको यो कदमले तरल राजनीतिक अवस्थामा आर्थिक चलखेल र अनियमितता गरी लाभ लिनखोज्ने एकखालका साहुजीहरूको प्रयासमा ढुंगा लाग्न पुगेको र भ्रष्टाचारीहरूको मुटुमा ढ्याङ्ग्रो बज्न सुरु गरेको धितोपत्र व्यवसायीहरूको भनाइ छ । धितोपत्र बोर्डले नयाँ नेतृत्व पाएदेखि नै सीमित साहुजीहरूलाई प्रत्यक्ष लाभ पुग्ने गरी अध्ययन र औचित्यविना नै विद्यमान ऐन–नियममा पटक–पटक संशोधन गरी स्टक एक्सचेन्ज र धितोपत्र दलाल व्यवसायीको लाइसेन्स वितरण प्रक्रिया अगाडि बढाएको थियो ।
एसोसिएसनले विज्ञप्तीमा भनेको छ, ‘हामी सरकारलाई यसै विज्ञप्तिमार्फत भन्छौँ, स्टक एक्सचेन्जको लाइसेन्स रोकेजस्तै दलाल व्यवसायीको लाइसेन्स पनि तत्कालै रोकी यसमा भएको आर्थिक अनियमितताको छानबिन गरोस् । सम्मानित संसद्, अर्थसमितिको सार्क क्षेत्रको अध्ययनसहितको बारम्बारको निर्देशन, सम्बन्धित सरोकारवालाहरूको सुझाव, बजारको आवश्यकता, अन्तर्राष्ट्रिय प्रचलन, पुँजीबजारको आधारभूत सिद्धान्त सबैलाई तिलाञ्जली दिँदै साहुजीहरूको प्रभावमा परी कोठे बैठकबाट नियमावली ड्राफ्ट गरी मन्त्रिपरिषद्बाट तीन दिनभित्रमा पटक–पटक नियमावली संशोधन गराउन सफल भइसकेको अवस्थाले समेत आर्थिक लेनदेन भइसकेको अनुमान लगाउन सकिन्छ ।’