काठमाडौं । प्रधानमन्त्रीको निवास बालुवाटारमा आइतबार बिहान तीन प्रमुख दलका शीर्ष नेताहरुको बैठक बस्यो। प्रधानमन्त्री ‘प्रचण्ड’, शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच पछिल्लो समय लगातार भेटवार्ता भइरहेको छ। सुरूमा तीन नेताहरूमात्र बसेका भए पनि पछि तीनै पार्टीका संसदीय दलका उपनेता र प्रमुख सचेतक पनि थपिए।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि बैठकमा पुगे। नेताहरूले संवैधानिक परिषदसम्बन्धी विधेयक, संसदीय समितिको नेतृत्व र सरकारको नीति तथा कार्यक्रमलगायत विषयमा सहमति जुटाउन बैठक बसिरहेको बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान चलिरहेका वखत तीन शीर्ष नेताहरूबीच बारम्बार भेटवार्ता हुँदा विभिन्न कोणबाट चर्चा भइरहेको छ।
आइतबारको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे कुरा गर्न नै तीन शीर्ष नेताहरू बैठक बसेको भन्ने बुझिन्छ भनेर नेम्वाङले कुरा राखेका थिए। आफूले यसो भन्दा नेताहरूले यो विषयमा ‘उहाँहरूले तपाईंलाई कसैले सोध्यो भने कानुनअनुसार कारबाही गर्न प्रतिवद्ध छौं भन्दिनु भन्नुभएको छ,’ नेम्वाङले भने।