मोरङ । सुन्दरहरैचा नगरपालिका विराटचोकमा रहेका दुईवटा बैंकबाट खाताको पासवर्ड ह्याक गरी पैसा निकालेको अभियोगमा सोही ठाउँ बस्ने ३६ वर्षीय देवराज सिक्देललाई प्रहरीले पक्राउ गरेको छ ।
सुन्दरहरैचा नगरपालिका–४ दुलारीस्थित आरए भिजन एकाउन्टेन सोलुसन प्रालि फर्मका एकाउन्टेन्ट समेत रहेका उनले सोही फर्मका सञ्चालकको नबिल बैंक शाखा कार्यालय विराटचोकमा रहेको बैंक खाताको पासवर्ड ह्याक गरी विभिन्न मितिमा २८ हजार एक सय रूपैयाँ र सोही फर्मका सञ्चालकका काकाको माछापुच्छ्रे बैंक शाखा कार्यालय विराटचोकमा रहेको खाताबाट विभिन्न मितिमा ६६ हजार आठ सय रुपैयाँ निकालेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीउपर इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।