काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १६औँ वार्षिक साधारणसभा भएको छ । बैंकले आइतबार काठमाडौं–६ बौद्ध सिमलटारस्थित सिद्धार्थ बुटिक होटलमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभाले २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई चार दशमलव ४१ प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर प्रयोजनका लागि शून्य दशमलव २३ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ ।
साधारणसभाले २०७९/८० को लागि लेखापरीक्षकमा बीआर एस न्यौपाने एन्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्ति गरेको छ । सभामा बैंक सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्यले वार्षिक प्रतिवेदनसहित भावी कार्ययोजना प्रस्तुत गरेका थिए ।
साधारणसभामा सेयरधनीहरुले राखेका जिज्ञासाको जवाफ दिँदैे बैंकका कामु प्रमुख कार्यकारी अधिकृत विनय दाहालले चालूको स्वीकृत बजेट तथा कार्यक्रमअनुसार निर्धारण गरिएको लक्ष्यहरु हासिल हुनेगरी कार्यक्रम सञ्चालन गरिएको बताए । तर अर्थतन्त्रमा देखिएको विषम परिस्थितिका कारण निर्धारित लक्ष्य प्राप्त गर्न असहज भएकाले चालूमा व्यवसाय वृद्धिको साथै खराब कर्जा असुलीमा बढी ध्यान केन्द्रित गरी कार्ययोजनासहित अगाडि बढ्ने बताए ।