काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान सभामुख देवराज घिमिरेसँग भेट गरेका छन् । सो भेटमा उनले सरकारको नीति तथा कार्यक्रम यही जेठ ५ गते ल्याउने तयारी गरेको बताएका हुन् ।
सभामुख घिमिरे मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार गएर प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । सो भेटमा संसद् बैठक, सरकारको नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको थियो ।
मंगलबारबाट संसदीय समितिहरुको बैठक सुरु भएपछि संसद्ले लय समातेको भन्दै उनले संसदमा विचाराधिन विधेयकहरु टुंगो लगाउन अब सहज हुने अपेक्षा गरेको पनि बताएका थिए । संसद् सञ्चालनका लागि सभामुख घिमिरेले सबै दलसँग समन्वय र सहकार्यको प्रयास गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले सह्राना पनि गरेका थिए ।
सदन सञ्चालनका लागि सरकार र राजनीतिक दलका तर्फबाट प्राप्त सहयोगका लागि उनले आभारी व्यक्त गरेका थिए । तर सदनमा उठेका विषयमा सरकारको जवाफ नपाएको गुनासो सांसदहरुले गरेको जानकारी गराउँदै उनले यो कुरालाई गम्भीरतापूर्वक लिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका थिए । यसैगरी सभामुख घिमिरेले संसद सचिवालयले पनि नीति तथा कार्यक्रम र बजेटको तयारी गरिसकेको जानकारी दिएका थिए ।