काठमाडौं । नेपाल टेलिकमले ‘नमस्ते–पे’को क्यूआर कोडमार्फत विभिन्न सेवाको सहजै बिल भुक्तानी गर्नसक्ने सुविधाको शुभारम्भ गरेको छ । कम्पनीले हाल नेपाल टेलिकमको सुन्धारा र बबरमहल शाखामा रहेका सम्पूर्ण काउन्टरहरुमा क्यूआरमार्फत भुक्तानीको सुविधा दिएको हो । उक्त सेवा सञ्चालनको लागि टेलिकम र नेपाल डिजिटल पेमेन्ट्स कम्पनीबीच सम्झौता भएको थियो ।
टेलिकमले सुन्धारा र बबरमहलमा सोमबार एक कार्यक्रमको आयोजना गरी सो सेवाको शुभारम्भ गरेको जनाएको छ । टेलिकमको बागमती प्रदेशकी प्रादेशिक निर्देशनालय निर्देशक सविना मास्के प्रधानले क्यूआर कोडमार्फत बिल भुक्तानी गरी सेवाको शुभारम्भ गरेकी हुन् । कार्यक्रममा उनले टेलिकमले आफ्नो काउन्टरहरुमा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न पहिलो पाइला चालेको बताइन् ।
यस्तै नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका सीईओ प्रवीणराज पोखरेलले आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नका लागि यसले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
हाल नेपाल टेलिकमको सुन्धारा र बबरमहल काउन्टरबाट नमस्ते–पेको क्यूआर प्रयोग गरी बिल भुक्तानी गर्न सकिनेछ । यो सेवालाई आगामी दिनमा अन्य कार्यालयहरुमा समेत विस्तार गरिने टेलिकमले जनाएको छ । कम्पनीका नयाँ र विद्यमान दुवै प्रयोगकर्ताहरूले क्यूआरमार्फत भुक्तानी गरेबापत आफ्नो वालेटमा १० प्रतिशत क्यासब्याक पाउने व्यवस्था समेत गरिएको छ ।
नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा सञ्चालित नेपाल डिजिटल पेमेन्ट्स कम्पनीले ‘नमस्ते–पे’ सञ्चालन गरिरहेको छ ।