काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा जारी छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै करोडौं असूली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ परेका खाँणको बयान सोमबारबाट सुरु भएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयका एक जना उपन्यायाधिवक्ता र जिल्ला प्रहरी परिसर, काठमाडौंका मुद्दाका शाखाका डीएसपी निरञ्जनदत्त भट्टको उपस्थितिमा उनको बयान भइरहेको छ ।
पूर्वगृहमन्त्री खाँण सोमबार प्रश्न सोध्दा सोध्दै ‘आजलाई भयो’ भन्दै उनी उठेका थिए । ‘५र६ वटा प्रश्न सोध्ने वित्तिकै अब भयो, भयो भन्दै उहाँ उठ्नुभयो’, सरकारी वकिलको कार्यालयका एक अधिकारीले ने, ‘प्रश्न सोध्दा उहाँले एकदमै झिजो मान्नुभयो, पछि स्वास्थ्य पनि समस्या भनेर उहाँलाई पठाइयो ।’
खाँणको बयान सोमबारै सक्ने तयारी सरकारी वकिलको कार्यालयले गरेको थियो । तर, उनले बोल्न नमानेपछि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको बयान थालिएको थियो । जिल्ला अदालत, काठमाडौंबाट तीन दिन म्याद भएलगत्तै उनलाई सरकारी वकिलमा लगेर बयान थालिएको थियो ।
अधिकारीहरुका अनुसार अहिले बयान दिन उपस्थित भएका पूर्वगृहमन्त्री खाँण चाहिँ अलमलिएका जस्तो देखिन्छन् । ‘कतिपय प्राविधिक विषयका प्रश्नहरु छन्, केही पत्राचारका कुरा, केही निर्णयका कुराहरु मन्त्रीलाई थाहा हुने विषय पनि भएन’, ती अधिकारी भन्छन्, ‘त्यसैले उनी केही विषयमा अलमलिएका छन् ।’
सरकारी वकिल र प्रहरीको अबेरसम्म भएपनि बयान सक्ने तयारी छ । बुधबारभित्र अनुसन्धान सकेर रायसहितको प्रतिवेदन बुझाउन सरकारी वकिलले निर्देशन दिएकाले पनि प्रहरी दबावमा छ ।