काठमाडौं । स्टक ब्रोकरको लाइसेन्स दिने प्रक्रियामा नेपाल धितोपत्र बोर्ड पुराना र नयाँ ब्रोकरबीचको झगडाका कारण चेपुवामा परेको छ । पुराना ब्रोकर कम्पनीहरूले धितोपपत्र बोर्डले नयाँलाई लाइसेन्स दिँदा पैसाको चलखेल गरेको आरोप लगाएका थिए । त्यसको विरोध गर्दै नयाँ कम्पनीहरूले प्रमाणित गर्न पुराना ब्रोकर कम्पनीहरूलाई चुनौती दिएका थिए ।
पुराना ब्रोकर कम्पनीहरूले आर्थिक चलेखल गरी साहुजीहरूको इसारामा लाइसेन्स दिएको भनेर धितोपत्रप बोर्डमाथि प्रश्न उठाएका थिए । नयाँ ब्रोकर कम्पनीको लाइसेन्सको विषयमा पुराना र नयाँ ब्रोकर कम्पनीहरूबीच द्वन्द्व भएपछि बोर्डले विज्ञप्ति जारी गरेर कुनै आर्थिक चलखेल नभएको बताएकोे छ ।
बोर्डले नियमसंगतरूपमा काम गर्दा न्यूनतम व्यावसायिक मर्यादा समेत नराखी विरोध गरिएको भन्दै आपत्ति जनाएको छ । बोर्डले रीतपूर्वक निवेदन दिएका ४६ वटा कम्पनीमध्ये ४३ वटालाई धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ४ बमोजिम आवश्यक पूर्वाधार तयार गर्न सूचित गरिएको प्रस्ट पारेको छ । २०७९ भदौ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले सो नियमावलीको पाँचौँ संशोधन स्वीकृत गरेपछि धितोपत्र दलाल व्यवसायीको खुला प्रवेशको नीतिगत व्यवस्थाको ढोका खुलेको थियो ।
अन्तर्राष्ट्रिय अभ्यासअनुरूप संस्थाको पुँजी, सञ्चालकहरूको योग्यता, संस्थाप्रमुखको योग्यता तथा सूचना प्रविधिलाई अनुमतिपत्र प्रदान गर्ने प्रमुख मापदण्डहरू मानी नियमावलीको व्यवस्थाबमोजिम बोर्डले २०७९ असोज २ गते धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि निवेदन दिने सम्बन्धमा ३० दिने सार्वजनिक सूचना प्रकाशित गरेको थियो । जसअनुसार ४१ कम्पनीले सीमित कार्य गर्ने धितोपत्र दलाल, चारवटा कम्पनीले पूर्ण कार्य गर्ने धितोपत्र दलाल तथा एउटाले धितोपत्र व्यापारी गरी कुल ४६ कम्पनीले आवेदन दिएका थिए । त्यसमध्ये १४ वटा आवेदन वित्तीय संस्थाका सहायक कम्पनीको रहेको बोर्डको भनाइ छ ।
‘निवेदन प्राप्त भएपछि रीतपूर्वक निवेदन परे÷नपरेको, आवश्यक विवरण तथा कागजात संलग्न भए÷नभएको र ऐन तथा नियमावलीबमोजिम पूरा गर्नुपर्ने सर्त पूरा भए÷नभएको जाँचबुझ गरी निवेदन दिने म्याद समाप्त भएको मितिले ३५ दिनभित्र अनुमतिपत्र जारी हुन सक्ने वा नसक्ने सम्बन्धमा निर्णय गर्नुपर्ने व्यवस्थाअनुरूप धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ३ को उपनियम (३) बमोजिम अनुमतिपत्र जारी हुनसक्ने देखिँदा ४३ वटा निवेदक कम्पनीहरूलाई धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ४ बमोजिम आवश्यक पूर्वाधार तयार गर्न सूचित गरिएको हो’, बोर्डले भनेको छ ।
बोर्डले १२ वटा ‘क’ वर्गका बैंकको सहायक कम्पनीहरू तथा ३१ अन्य संस्थाहरूलाई धितोपत्र दलाल तथा व्यापारीको रूपमा प्रवेश गराउने प्रक्रियाले धितोपत्र बजार थप प्रतिस्पर्धी तथा पारदर्शी हुने, धितोपत्र बजार सेवाको स्तरवृद्धिको साथै सेवा तथा मूल्यमा प्रतिस्पर्धा भई लगानीकर्ता लाभान्वित हुने देखिएकोमा लामो समयदेखि लगानीकर्ताबाट माग भई आएको धितोपत्र दलाल व्यवसायीको प्रवेशसम्बन्धी माग सम्बोधन भएको तथा धितोपत्र बजारमा प्रतिस्पर्धाका साथै रोजगारीको समेत सिर्जना भई अर्थतन्त्रमा समेत योगदान पुग्ने विश्वास लिएको बोर्डको भनाइ छ ।
‘कानुनीरूपमा नै समयसीमा तोकी, जवाफदेही पद्धतिको विकास गरी, सार्वजनिकरूपमा आह्वान गर्दै पारदर्शी प्रक्रियाबाट मापदण्ड पूरा गरेका सबैलाई समान अवसर प्रदान गरी तोकिएको समयमै पूर्वाधार तयार गर्न सूचित गरिएकोमा केही संस्थाहरूले धितोपत्र दलाल व्यवसायलाई प्रतिस्पर्धी हुन नदिई सधैँ सीमित व्यवसायीको घेराभित्र राख्ने कुण्ठित मनसायबाट प्रेरित भई बोर्डको यस कार्यको विरोध गर्दै बोर्डलाई विभिन्न प्रकारका आधारहीन, कपोकल्पित आरोपहरू लगाइएकोमा गम्भीर ध्यानाकर्षण भएको छ’, बोर्डले भनेको छ ।
बोर्डले पछिल्लो समयमा समग्र धितोपत्र बजार विकास तथा विस्तारमा निरन्तर पहलकदमी लिइरहेको सन्दर्भमा आफ्नो न्यूनतम व्यावसायिक मर्यादालाई समेत कायम नराखी निश्चित आत्मकेन्द्रित स्वार्थप्रेरित विज्ञप्ति प्रकाशित गरी समग्र बजार विकासमा बाधा पु¥याउन भएको प्रयासप्रति खेद प्रकट गरेको उल्लेख गरेको छ । यो अवस्थामा धितोपत्र बोर्ड लगानीकर्ताको हकहित संरक्षण र बजार विकास तथा विस्तारका लागि आगामी दिनहरूमा समेत खुला प्रगतिशील नीतिहरू तर्जुमा गरी कार्यान्वयन गर्दै जाने बोर्डले बताएको छ ।
केही दिनअघि बोर्डले न्यूनतम पूर्वाधार पु¥याएका ४३ वटा ब्रोकर कम्पनीहरूलाई कारोबार सञ्चालनको लागि आसयपत्र दिएपछि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले बोर्डको उक्त कार्यको विरोध गर्दै आर्थिक चलखेल भएको आरोप लगाएको थियो । त्यसलगत्तै नयाँ ब्रोकर एसोसिएसनले आरोपलाई प्रमाणित गर्न चुनौती दिँदै अब पनि कपोकल्पित आरोपहरू लगाए सह्य नहुने चेतावनी पुराना ब्रोकर कम्पनीहरूलाई दिएको थियो ।