काठमाडौं । संघीय शासन प्रणालीले यसअघिको केन्द्रीकृत अर्थतन्त्रलाई समान तरिकाले वितरण गरेर देशैभर फैलाउन सहयोग गर्छ भन्ने अपेक्षाको विपरीत अहिले पनि आर्थिक गतिविधि संघीय राजधानी रहेको बागमती प्रदेशमै मात्र केन्द्रित हुन पुगेको छ । संघीय शासन नभएको बेला पनि अर्थतन्त्र तत्कालीन मध्यमाञ्चल विकास क्षेत्रमै र त्यसमा पनि बागमतीमै बढी केन्द्रित थियो ।
अझ सेवा क्षेत्रबाट हुने उत्पादन त अन्य प्रदेशमा जानै नसकेको राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को प्रादेशिक कुल गार्हस्थ्य उत्पादनसम्बन्धी विवरणमा देखिन्छ ।
‘अर्थतन्त्रमा बागमती प्रदेशको सेवा क्षेत्रको सेयर ७७ प्रतिशत छ’, राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ईश्वरी प्रसाद भण्डारीले मंगलबार प्रादेशिक कुल गार्हस्थ्य उत्पादनसम्बन्धी विवरण सार्वजनिक गर्दै भने, ‘बागमतीबाहेक अरु प्रदेशको अर्थतन्त्रमा सेवा क्षेत्रको सेयर ५० देखि ५९ प्रतिशत मात्र छ । अरु प्रदेशको भन्दा सेवा क्षेत्रको सेयर बागमतीमा १८ प्रतिशतभन्दा बढी छ ।’ सेवा क्षेत्र नै बागतमी प्रदेशमा बढी भएको कारण जनसंख्या र जनघनत्व पनि यही प्रदेशमा बढी छ ।
आर्थिक वर्ष २०७९/०८० मा राष्ट्रिय वार्षिक आय कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब ५३ खर्ब ८१ अर्ब हुने अनुमान तथ्यांक कार्यालयको छ । त्यसमा सबैभन्दा बढी योगदान बागमती प्रदेशको ३६ दशमलव ८ प्रतिशत रहेको छ । यसले बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब २० खर्ब अर्थात् १९ खर्ब ८१ अर्ब हुने तथ्यांक कार्यालयले जनाएको छ ।
बागतमीपछि अर्थतन्त्रमा कोशी प्रदेशको आठ खर्ब ५० अर्ब सेयर, लुम्बिनीको सात खर्ब ६३ अर्ब, मधेस प्रदेशको सात खर्ब आठ अर्ब, गण्डकी प्रदेशको चार खर्ब ८२ अर्ब, सुदूरपश्चिम प्रदेशको तीन खर्ब ७६ अर्ब र अर्थतन्त्रमा कर्णाली प्रदेशको सेयर दुई खर्ब २२ अर्ब मात्र हुनेछ ।
राष्ट्रिय अर्थतन्त्रमा सबैभन्दा बढी योगदान दिने प्रदेश बागमती हो । बागमती प्रदेशले राष्ट्रिय अर्थतन्त्रमा ३७ प्रतिशतको योगदान दिन्छ भने यसपछि कोशीले १६ प्रतिशतको योगदान दिएको अनुमान छ । त्यस्तै, लुम्बिनी प्रदेशले १४ प्रतिशत, मधेस प्रदेशले १३ प्रतिशत, गण्डकी प्रदेशले ९ प्रतिशत, सुदूरपश्चिम प्रदेशले ७ प्रतिशत र कर्णाली प्रदेशले ४ प्रतिशतको योगदान राष्ट्रिय अर्थतन्त्रमा दिएको छ ।
अर्थतन्त्र उकास्न प्रथम, द्वितीय र तृतीय क्षेत्रको योगदान रहेको हुन्छ । नेपालमा प्राथमिक क्षेत्रमा कृषि, खानी तथा उत्खनन क्षेत्र, द्वितीय क्षेत्रमा विद्युत्, औद्योगिक उत्पादन, खानेपानी तथा ढल निकास तथा निर्माण क्षेत्र र तृतीय क्षेत्रमा सम्पूर्ण सेवा क्षेत्र पर्दछन् । सेवा क्षेत्रको अधिकांश व्यवसाय बागमती प्रदेशमा छ । संघीय राजधानी काठमाडौं उपत्यका यही क्षेत्रमा रहेको कारण सबै सेवा र सुविधा अहिले पनि काठमाडौंमा मात्र केन्द्रित रहँदा अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान बागमातीबाट मात्रै बढी भएको हो । तर, प्रथम क्षेत्र अर्थात् कृषि, खानी तथा उत्खनन क्षेत्रको योगदान भने बागमती प्रदेशमा अन्य प्रदेशको तुलनामा अत्यन्त न्यून छ ।
सेवा क्षेत्र बागमती प्रदेशमा केन्द्रित भए पनि अरु बाँकी छवटा प्रदेशको आर्थिक संरचना भने करिब–करिब उस्तै छ । अर्थात् प्रथम, द्वितीय र तृतीय क्षेत्रका योगदान अन्य सबै प्रदेशका करिब एउटै रेसियोमा छ ।
कोशी प्रदेशमा प्राथमिक क्षेत्रको सेयर बढी छ भने गण्डकी प्रदेशमा २६ प्रतिशत छ । अरु प्रदेशमा करिब ३० र सोभन्दा बढी प्राथमिक क्षेत्रको सेयर रहेको छ । तर, बातमती प्रदेशमा भने प्राथमिक क्षेत्रको सेयर करिब १२ प्रतिशत मात्र छ । बागमतीमा प्राथमिक क्षेत्रमा पर्ने कृषिको योगादन आर्थिक उत्पादनमा ११ दशमलव २ प्रतिशत मात्र छ भने खानी तथा उत्खनन क्षेत्रको योगदान शून्य दशमलव ७ प्रतिशत मात्र छ । जसले गर्दा बागमती प्रदेशको अर्थतन्त्रको संरचना अन्य प्रदेशको तुलनामा भिन्न छ ।
सेवा क्षेत्र बागमती प्रदेशमा मात्र केन्द्रित हुँदा आर्थिक गतिविधिसमेत यही क्षेत्रमा केन्द्रित देखिन्छ । जहाँ सेवा क्षेत्र बढी छ त्यहाँ नै जनसंख्या बढी हुन्छ । बागमती प्रदेशका जस्ता अस्पताल, शिक्षा र होटल व्यवसाय अन्य प्रदेशमा नगण्य छन् । जनसंख्या नै कम भएपछि अन्य प्रदेशमा सेवा क्षेत्रको व्यवसाय कम हुन पुगेको हो ।
बागमती प्रदेशमा कुल गार्हस्थ्य उत्पादनमा उद्योगको ५ दशमलव २ प्रतिशत, विद्युत्को १ दशमलव ५ प्रतिशत, पानीको शून्य दशमलव ३ प्रतिशत, थोक तथा खुद्रा व्यापारको सेयर २३ दशमलव छ प्रतिशत छ । समग्ररूपमा थोक तथा खुद्रा व्यापारको कारोबारमा सीमितता आएको कारण बागमती प्रदेशको आर्थिक वृद्धिदर भने सबैभन्दा कम १ दशमलव ४ प्रतिशत मात्र रहने अनुमान गरिएको छ । तथ्यांक कार्यालयले चालू आवमा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर राष्ट्रिय तहको उपभोक्ता मूल्यमा १ दशमलव ८६ प्रतिशत हुने अनुमान छ । गण्डकी प्रदेशमा राष्ट्रिय आर्थिक वृद्धिदरभन्दा बढी ३ दशमलव ३ प्रतिशत, लुम्बिनीमा २ दशमलव १ प्रतिशत, कोशीमा २ प्रतिशत, मधेशमा १ दशमलव ७ प्रतिशत, कर्णालीमा एक दशमलव ९ प्रतिशत र सुदूरपश्चिममा एक दशमलव ८ प्रतिशत हुने अनुमान छ । सबैभन्दा बढी सेयर हुने क्षेत्रको कारोबारमा संकुचन आएको कारण बागमती प्रदेशको आर्थिक वृद्धिदरमा कमी आउने देखिएको हो ।
प्रतिव्यक्ति कुल ग्रार्हस्थ्य उत्पादन राष्ट्रिय तहमा १३ सय ९९ अमेरिकी डलर रहने अनुमान छ भने त्यसमा बागमती प्रदेशमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन २४ सय ५५ डलर हुने अनुमान छ । मधेस प्रदेशमा ८ सय ७५ डलर मात्र छ । बागमती र मधेसको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमै एक तिहाइ फरक छ ।