काठमाडौं । प्रजातान्त्रिक विचार समाजको १२ औं राष्ट्रिय महाधिवेशनमा बुधबार बोल्दै थापाले भने, ‘यो प्रकरणमा अनुसन्धान जरैसम्म पुग्नुपर्छ। जो(जो मुछिन्छ, उसलाई कारबाही गर्नुपर्छ।
’नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन्। खाणलाई कांग्रेसले निलम्बन गरिसकेको छैन।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा आबद्ध कोहीमाथि भ्रष्टाचारलगायत केही आरोप लागेमा निलम्बन गर्ने र प्रमाणित भएमा जेल पठाइने बताएका छन्। पार्टीका बैठकमा आरोप मात्रै लागेकालाई निलम्बन गर्ने परम्परा थिएन भन्दै सभापति शेरबहादुर देउवा र उनीनिकट केही नेताले निलम्बन गर्न मानिरहेका छैनन्।
शरणार्थी प्रकरणमा आरोप लागेका खाणलाई निलम्बन गर्ने कि नगर्ने भन्नेमा केही दिनदेखि पार्टीमा बहस चलिरहेको थापा बताउँछन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, उपसभापति धनराज गुरूङ खाणलाई निलम्बन गरेर जानुपर्नेमा छन् ।
उनले पार्टी भ्रष्ट नहुने आबद्ध व्यक्ति भ्रष्ट हुने भएकोले पार्टीमा आबद्ध कोही भ्रष्टाचारी भए पार्टीबाट निकालिने बताए । ‘कांग्रेसमा आबद्ध कोही कुहियो भने त्यसलाई निकालेर फाल्ने हो, अनि बल्ल पार्टी चल्छ,’ थापाले भने, ‘आरोपितलाई पार्टीबाट तुरून्त निलम्बन गरेर अलग राख्नुपर्छ र अनुसन्धान यो प्रकरणको जरैसम्म पुग्नुपर्छ।’
उनले कुनै पनि आरोप लागेपछि निलम्बन गरिनुपर्ने बताए। ‘केही साथीहरूले हाम्रो पार्टीभित्र निलम्बन गर्ने परम्परा नै छैन भनिरहेका छन्। परम्पराका नाममा किन गलत कुरा बोकिरहने ? तोड्ने हो,’ उनले भने।