काठमाडौं । सिद्धार्थ बैंकलाई इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी) ले पाँच करोड ५० लाख अमेरिकी डलर ऋण दिने भएको छ । सिद्धार्थ बैंक र विश्व बैंक समूहअन्तर्गत्को आईएफसीबीच नेपालका लघु, साना तथा मझौला उद्यमीहरूको व्यवसाय र जलवायु वित्तपोषणमा लगानी गर्ने सम्झौता भएको हो । सोही सम्झौंताअनुसार आईएफसीले उक्त ऋण दिन लागेको बैंकले जनाएको छ ।
सिद्धार्थ बैंकलाई दिन लागेको यो ऋण आईएफसीले नेपाली बैंकलाई हालसम्म प्रदान गरेकोमध्ये सबैभन्दा बढी भएको बैंकको दाबी छ । यो सहकार्यबाट प्राप्त रकम बैंकले स्वच्छ ऊर्जा परियोजना, विद्युतीय सवारी साधन, जलवायुमैत्री कृषि जस्ता परियोजनामा लगानी गर्नेछ । सम्झौताले लघु, साना तथा मझौला व्यवसाय स्थापना, सञ्चालन र प्रवद्र्धन गर्ने एवं हाल नेपालको बैंकिङ प्रणालीमा कायम तरलताको समस्या समाधानमा पनि टेवा पुग्ने विश्वास बैंकको छ । बैंकको हाल सम्पत्ति दुई खर्ब ७३ अर्ब ८३ करोड रुपैयाँ, निक्षेप दुई खर्ब १६ अर्ब ९६ करोड रुपैयाँ र कर्जा एक खर्ब ८९ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । बैंकले सबै क्षेत्रमा गरी देशभर एक सय ९५ वटा शाखा, दुई सय २३ एटीएम र एक हजार सात सय ४४ पीओएसमार्फत् बैंकिङ सेवा दिँदै आएको छ ।