काठमाडौं । नेपालको परराष्ट्र नीति पञ्चशीलका आधारमा नै हुने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन् । बिहीबार प्रतिनिधिसभाकोको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिदै उनले राष्ट्रको हितलाई ध्यानमा राखेर नेपालको परराष्ट्र नीतिलाई निरन्तता दिइने बताए।
सांसद दीलेन्द्रप्रसाद बडूले बैठकमा नेपालको परराष्ट्र नीति कसरी अगाडि बढाउने सरकारको योजना छ भनी प्रश्न गरेका थिए । त्यस्तै सांसद रघुजी पन्तले नेपाल–भारतबीचको १९५० सन्धि, नेपालको सीमा र भूमिको रक्षालगायत विषयमा भारत भ्रमणको क्रममा छलफल हुन्छ कि हुँदैन भनी प्रश्न गरेका थिए ।
दुबै सांसदको जवाफमा प्रधानमन्त्री दाहालले भने, “भारत भ्रमणबारे सीमाका सम्बन्धमा हामी एक इञ्च पनि जमिन छोडदैनौँ, छिमेकीको पनि एक इञ्च पनि जमिन चाहिँदैन, यही कुरा हामी भारत भ्रमणमा गएर गछौँ, नेपालको राष्ट्रिय हित, एकतामा असर पर्ने काम हुन दिइने छैन ।”
सांसद विद्या भट्टराईले मुलुकमा भ्रष्टाचार र बेतिथि बढेको, लडाकु शिविर, ललिता निवास र नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणमा नियन्त्रण र कारबाहीका लागि सरकारको के गरिरहेको छ भन्ने प्रश्न गरेकी थिइन् ।
उनको प्रश्नको जवाफमा प्रधानमन्त्रीले भने, “भ्रष्टाचार र सङ्गठित अपराधलाई सरकारले छाड्ने छैन, नक्कली भुटानी शरणार्थीको विषय नेपालकै इज्जतको विषय बनेको छ, सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता नीति अवलम्बन गरेको छ, त्यसप्रति सरकार प्रतिबद्ध छ ।”
उनले सार्वजनिक सेवा प्रवाहले राज्य र सरकारप्रति जनताको भरोसा बढदै गएको उल्लेख गर्दै सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिएको स्पष्ट पारे । यसमा परिणाम देखिने गरी काम गर्ने उनको प्रतिबद्धता थियो ।
सो अवसरमा उनले मुलुकमा गणतन्त्रको स्थापनापछि शिक्षा, स्वास्थ्य, साक्षारता, आर्थिक विकास, कृषिलगायत क्षेत्रमा भएका प्रगतिबारे तथ्याङक प्रस्तुत गरे । प्रधानमन्त्री दाहालले भूकम्पपीडितका लागि बाँकी रहेको किस्ता रकम निर्धारित समयभित्रै वितरण गरिने जानकारी गराए ।