काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले कृषि र ऊर्जा क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकिदिएको न्यूनतम सीमाभन्दा बढी कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको अन्तिमसम्म कुल कर्जा लगानीको न्यूनतम ११ प्रतिशत कृषि क्षेत्रमा प्रवाह गर्नुपर्छ । यस्तै ऊर्जामा छ प्रतिशत र लघु, घरेलु, साना तथा मझौला उद्यम क्षेत्रमा ११ प्रतिशत कर्जा प्रवाह गर्नुेपर्ने व्यवस्था छ । लघु, घरेलु, साना तथा मझौला उद्यममा एक करोड रुपैयाँभन्दा कमको कर्जा र प्रत्यक्ष प्रवाह भएका विपन्न वर्ग कर्जा समेत समावेश हुने व्यवस्था छ ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूले २०७९ चैत मसान्तसम्म कृषि क्षेत्रमा १३ दशमलव १ प्रतिशत अर्थात् पाँच खर्ब ५२ अर्ब ३९ करोड रूपैयाँ कर्जा प्रवाह गरेका छन् । यसैगरी ऊर्जामा छ दशमलव छ प्रतिशत अर्थात् दुई खर्ब ७७ अर्ब २४ करोड रूपैयाँ र लघु, घरेलु, साना तथा मझौला उद्यम क्षेत्रमा नौ दशमलव नौ प्रतिशत अर्थात् चार खर्ब १५ अर्ब ५६ करोड रूपैयाँ कर्जा लगानी गरिसकेका छन् ।
यस्तै विकास बैंकहरूले २०८० असार मसान्तसम्ममा कुल कर्जा लगानीको १६ प्रतिशत कर्जा कृषि, लघु, घरेलु तथा साना उद्यम/व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था छ । सोमध्ये २०७९ चैत मसान्तसम्ममा यी क्षेत्रहरूमा औसत २६ प्रतिशत अर्थात् एक खर्ब १२ अर्ब ५७ करोड रूपैयाँ कर्जा लगानी भएको राष्ट्र बैंकले जनाएको छ ।
फाइनान्स कम्पनीहरूले २०८० असार मसान्तसम्म कुल कर्जा लगानीको ११ प्रतिशत कृषि, लघु, घरेलु तथा साना उद्यम/व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था छ । तर फाइनान्स कम्पनीहरूले २०७९ चैत मसान्तसम्ममा यो क्षेत्रहरूमा औसत २२ दशमलव पाँच प्रतिशत अर्थात् १९ अर्ब ८४ करोड रूपैयाँ कर्जा प्रवाह गरिसकेको देखिन्छ ।
राष्ट्र बैंकका अनुसार विपन्न वर्ग क्षेत्रमा पनि बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी बढाएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो कुल कर्जा सापटको न्यूनतम पाँच प्रतिशत कर्जा विपन्न वर्गमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकोमा २०७९ चैत मसान्तसम्ममा वाणिज्य बैंकहरूको छ दशमलव चार प्रतिशत अर्थात् दुई खर्ब ७१ अर्ब ३५ करोड रूपैयाँ कर्जा प्रवाह गरेका छन् । विकास बैंकहरूले १० दशमलव एक प्रतिशत अर्थात् ४३ अर्ब ६१ करोड रुपैयाँ र फाइनान्स कम्पनीहरूले छ दशमलव छ प्रतिशत अर्थात् पाँच अर्ब ८३ करोड रूपैयाँ कर्जा विपन्न वर्गमा प्रवाह गरेका छन् ।
राष्ट्र बैंकका अनुसार नेपाल सरकारको ब्याज अनुदानमा सञ्चालित सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत २०७९ चैत मसान्तसम्म कुल एक लाख ४७ हजार आठ सय सात ऋणीलाई दुई खर्ब पाँच अर्ब ११ करोड कर्जा लगानीमा रहेको छ । कृषिलगायतका उत्पादनशील क्षेत्र, लघु उद्यम, निर्यात र कोभिड महामारीबाट प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई उपलब्ध गराइएको पुनरकर्जा सुविधा २०७९ चैत मसान्तमा पाँच अर्ब ७७ करोड रूपैयाँ लगानी रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा रकम ४८ खर्ब ५० अर्ब रूपैयाँको पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरुको ४३ खर्ब, विकास बैंकहरूको चार खर्ब ५७ अर्ब र फाइनान्स कम्पनीहरूको ९२ अर्ब ६७ करोड रूपैयाँबराबरको रहेको राष्ट्र बैंकले जनाएको छ ।