काठमाडौं, बैंक खातामा रहेको रकम हिनामिना गर्ने शाखाप्रमुखसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । एभरेष्ट बैंकको इटहरी शाखामा बचतकर्ताले जम्मा गरेको एक करोड ५० लाख २३ हजार चार सय ३४ रुपैयाँ हिनामिना भएपछि शाखाप्रमुख सिन्धुपाल्चोक बाह्रबिसे–८ घर भएका ४२ वर्षीय विश्वराज शाक्यसहित नौ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा शाक्यसँगै बैंकको उदयपुर गाईघाट शाखाका अपरेसन इन्चार्ज विराटनगर– ८ का ३४ वर्षीय निरज प्रधान, इटहरी शाखाका सुपरभाइजर ३७ वर्षीय धावा लामा, बैंकका कनिष्ठ सहायकहरू २७ वर्षीय मनोज घिमिरे, २७ वर्षीय देवराज शर्मा र २७ वर्षकै रञ्जित पण्डित, इटहरी शाखाकी टेलर ३० वर्षीय पवित्रा कटुवाल, धनुसाको मिथिला नगरपालिका– ११ का ३४ वर्षीय शंकर भुजेल र भक्तपुरको सूर्यविनायक नगरपालिका– २ का २७ वर्षीय अजय खिउजु रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
उनीहरूले ३३ जना निक्षेपकर्ताले जम्मा गरेको एक करोड ५० लाख २३ हजार चार सय ३४ रुपैयाँ हिनामिना गरेका हुन् । पछिल्लो पाँच महिनामा ३३ जना ग्राहकको खाताबाट कनेक्ट आईपीएसमार्फत ५९ पटकमा सो रकम निकालेको देखिएको छ ।