इस्लामावाद, पाकिस्तानले आर्थिक संकटको सामना गर्न मित्रराष्ट्रहरुसँग सहयोगको याचना गर्ने भएको छ । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)बाट छ अर्ब ५० करोड अमेरिकी डलरको पुनरुत्थान सहायता प्याकेज पाउन ढिलो हुने भएपछि पाकिस्तान सरकार मित्रराष्ट्र गुहार्ने निष्कर्षमा पुगेको हो ।
पाकिस्तान सरकारले आईएमएफलाई आगामी महिनाको अन्त्यसम्म पुरानो ऋणको किस्ताबापत छ अर्ब डलर भुक्तानी गरेपछि मात्रै नयाँ ऋण प्याकेजबारे आईएमएफले निर्णय गर्ने बताएपछि पाकिस्तान दबाबमा परेको हो । आईएमएफले पाकिस्तानलाई कालोसूचीमा पर्नबाट जोगिन आगामी महिनाभित्र पुरानो ऋणको छ अर्ब डलर भुक्तान गर्न भनिसकेको छ ।
पाकिस्तानी समाचार संस्था एआरवाई न्युजले पाकिस्तान आईएमएफका अधिकांश सर्त पालना गर्न सहमत भएको उल्लेख गरेको छ । पाकिस्तान सरकारले पूर्वप्रधानमन्त्री इमराख खानको कार्यकालमा भएका ऋणका कठोर सम्झौता पनि पालना गर्नेभएको छ ।
पाकिस्तान सरकारले चीनसँग मद्दत मागिरहेको छ । चीनबाट दुई अर्ब ४० करोड डलर ऋणको अपेक्षा गरिएको पाकिस्तानी अधिकारीहरुले बताएका छन् ।