काठमाडौं,चीनले सन् २०२३को अन्त्यसम्म घरेलुरूपमा निर्मित विश्वको पहिलो फाइभ–जी क्रुज जहाज ल्याउँदै छ । जसलाई अडोरा म्याजिक सीटी भनिनेछ । जहाजको यो नाम शुक्रबार सांघाईमा अनावरण गरिएको थियो । जहाज यस वर्षपछि डेलिभर हुने बताइएको छ ।अडोरा म्याजिक सिटीले पूर्वी र पश्चिमी संस्कृतिहरू मिश्रण गर्नेछ भने यात्रामा अद्वितीय क्रुज अनुभव प्रदान गर्ने बताइएकोे छ ।
क्रुज टेक्नोलोजिज विकास कम्पनी र सांघाई वाइगाक्यूओ जहाज निर्माण कम्पनीद्वारा संयुक्तरूपमा डिजाइन र निर्माण गरिएको यो जहाज तीन सय २३ दशमलव छ मिटर लम्बाइको छ । यसले पाँच हजार दुई सय ४६ यात्रुसहित एक लाख ३५ हजार पाँच सय टन भार क्षमता राख्दछ ।
जहाजको सफलतापूर्वक डेलिभरीपछि सांघाई बन्दरगाह र छिमेकी देशहरूबीच अन्तर्राष्ट्रिय मार्गहरूको युग सुरु हुने विश्वास गरिएको छ । यससँगै चीन र अन्य देशहरूबीच सांस्कृतिक आदानप्रदान बढाउन सहयोग पुग्ने चिनियाँ अधिकारीहरूले बताएका छन् ।