काठमाडौं, राजस्व अनुसन्धान विभागको बदमासीले बजेटको मुखमा भन्सार ठप्प भएको छ । राजस्व नउठेर कर्मचारीलाई तलब खुवाउन समेत मुस्किल हुँदै गएको बेला राजस्व अुनसन्धान विभागका महानिर्देशक नारायण सापकोटाको एउटा बेइमानीले विगत ११ दिनदेखि भन्सारबाट सामान पास भएका छैनन् ।
विभागले गत वैशाख ३१ गते बदनियतपूर्वक मालगाडी नियन्त्रणमा लिएपछि सीमापारि आइपुगेका सयौँ मालगाडी भन्सार जाँचपासका लागि अघि नबढेर पछि हटेर बसेका छन् । बालुवाटारमा गंगाजल सेचन गरेर महानिर्देशक बन्न पुगेका सापकोटाले आफ्नो हित हुनेगरी काम गर्न खोज्दा आयातकर्ताहरूले सामान जाँचपास नगराएका हुन् । दैनिक ५५ करोडभन्दा बढी राजस्व उठ्नुपर्ने भन्सार ११ दिनदेखि ठप्प भएको विषयमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालसँग समेत कुरा राखिसकेको बुझिएका छ ।
प्रधानमन्त्री कार्यालयअन्तर्गतको राजस्व अनुसन्धान विभागको महानिर्देशक सापकोटाले अर्थमन्त्री डा. महतको निर्देशन नटेरेपछि प्रधानमन्त्रीलाई गुहार्दा पनि राजस्व अनुसन्धानले नियन्त्रणमा लिएर चेकजाँच गर्दा कुनै कैफियत नभेटेका सामानलाई समेत छाडेको छैन र फायल पालेर राखेको थाहा भएको छ । ती फायल कहिले यता कहिले उता झुलाएर राखिएको छ र प्रधानमन्त्री प्रचण्डले नै भने पनि छाड्दिन भनेर सेवाग्राहीहरूलाई उल्टै हप्कीदप्की गर्ने गरिएको छ ।