काठमाडौं,पर्वतारोही कामीरिता शेर्पाले २८ औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् । उनले आफ्नै रेकर्ड तोडेर सगरमाथा आरोहणमा नयाँ कीर्तिमान कायमसमेत गरेका छन् ।
कामीरिता मंगलबार बिहान ९ः२३ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै उनले यसअघिको सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने आफ्नै कीर्तिमान तोडेका हुन् । यो वर्षको वसन्त ऋतुमा उनको यो दोस्रो पटकको आरोहण हो । यसअघि जारी सिजनमा यही मे १७ मा उनले २७ औँ पटक सगरमाथा आरोहण गरेका थिए ।
कामीरिताले सन् २०२२ को वसन्त आरोहणमा रोप फिक्सिङका क्रममा २६औँ पटक सगरमाथाको आरोहण गरेका थिए । खुम्बु पासाङ ल्हामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामिरिताले सबैभन्दा धेरैपटक सगरमाथा आरोहणसँगै आठपटक चोयु, तीनपटक मनास्लु, एकपटक ल्होत्से, केटु आरोहण एक गरी ४० पटक विश्वका अग्ला हिमालको आरोहण गरिसकेका छन् ।
सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ ।