काठमाडौं,सरकारले २०६८ देखि सार्वजनिक स्थलमा धुम्रपान निषेध गर्ने नीतिअनुरूप कार्यान्वयनमा ल्याए पनि सर्वसाधारणले निर्बाधरूपमा प्रयोग गरेको पाइन्छ । पसलैपिच्छे धुम्रपान र सुर्तीजन्य पदार्थको बिक्री–वितरण हुनेगरेको छ ।सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन– २०६८ को दफा ४ अनुसार सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न नहुने कानुनी व्यवस्था गरेको छ ।
सरकारले ऐन–नियम बनाउने तर कार्यान्वयनमा ध्यान नदिने प्रवृत्तिका कारण सार्वजनिक स्थल, यातायात, सरकारी कार्यालय, स्वास्थ्य संस्थामा सुर्तीजन्य पदार्थ सेवन भइराखेको छ । यही विषयमा केन्द्रित रहेर आर्थिक दैनिकले जेठ ९ गते मंगलबार विशेष सामग्री प्रकाशित गरेको थियो । यसको प्रभावस्वरूप अहिले सरकारी निकायहरूले पनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन नगर्न र नगराउन सूचना जारी गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार एक सूचना जारी गर्दै सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तीजन्य पर्दा सेवन नगर्न, नगराउन भनेको छ । सूचनामा पार्क, सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक सवारीसाधन, विमानस्थल, सार्वजनिक शौचालय, चलचित्र घर, रंगशाला, धार्मिक स्थल, प्रतीक्षालयलगायतका सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन नगर्न नगराउन भनिएको छ ।
यस्तै स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय र नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको पसलबाट सुर्तीजन्य पदार्थ बिक्री–वितरण नगर्न र नगराउन सूचित गरेको छ ।
यस्तै १८ वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्री–वितरण नगर्ने, नगराउने, सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गरी, गराई सूचनाको पालना नगरेमा ऐनबमोजिम कारबाही हुने उल्लेख गरेको छ ।सूचनामा सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने नगराउने कार्यमा सुरक्षाकर्मी, सामुदायिक संस्था तथा आम नागरिकबाट आवश्यक जागरुकता, सचेतना र सहकार्य गर्न समेत प्रशासनले अनुरोध गरेको छ ।