काठमाण्डौं,चैत २८
सरकारले थप ३५ हजारमा कोरोना परीक्षण गर्ने तयारीस्वरुप ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) पठाएको छ । प्रत्येक प्रदेशमा पाँच हजारको दरले सातवटै प्रदेशमा आरडीटी पठाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बुधबार दिउँसोदेखि बिहीबार दिउँसोसम्म एक जना व्यक्तिमा पनि कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण देखिएको छैन । प्रत्येक प्रदेशमा क्वारेन्टाइनमा रहेका व्यक्तिको परीक्षणका लागि प्रतिप्रदेश पाँच हजारका दरले ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) सामग्री प्रदान गरिएको हो ।
मन्त्रालयद्वारा बिहीबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले परीक्षणलाई तीव्रता दिन आरडीटी पठाइएको र थप नयाँ कोरोना सङ्क्रमित व्यक्ति नभेटिएको बताएका हुन् । तीन हजारभन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमणको नमूना परीक्षण भइसकेको पनि देवकोटाले जानकारी दिए ।
देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म कुल २ हजार ८ सय ९५ नमूना परीक्षण सम्पन्न भएका छन् । जसमा काठमाडौँ उपत्यकामा रहेको प्रयोगशालामा २ हजार ३ सय ८२ र उपत्यका बाहिर ५ सय १३ नमूना परीक्षण भएका छन् भने १ सय ९३ परीक्षण जारी छ । परीक्षण जारी रहेकोसहित परीक्षणको संख्या तीन हजार ८८ पुगेको हो ।
हालसम्म नेपालभरि सात हजार ९ सय ४० जना क्वारेन्टाइनमा छन् । आइसोलेसनमा रहेका व्यक्तिको सङ्ख्या भने १ सय १७ रहेको छ । सोमध्ये काठमाडौँ उपत्यकामा १८ र उपत्यकाबाहिर ९९ रहेका छन् । बाग्लुङ, म्याग्दी र पर्वतका स्वास्थ्यकर्मीलाई ¥यापिड डाइग्नोस्टिक टेस्टसम्बन्धी तालिम दिइएको र परीक्षणसमेत सुरु गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । त्यसैगरी कैलाली र कञ्चनपुरमा हालसम्म ६६ टेस्ट गरिएको छ भने सबैको रिपोर्ट नेगेटिभ आएको मन्त्रालयको भनाइ छ ।