दोलखा । दोलखाका पुराना मौरीपालक कृषक कर्णबहादुर तामाङ मौरीपालनमा लागेको ४० वर्ष भयो । २०४० सालदेखि मौरीपालन गर्न थालेको उनले यही पेसाबाटै वार्षिक पाँच लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताए ।
बैतेश्वर गाउँपालिका–१ बगरका कृषक तामाङले एक सय १० घारमौरी पालेका छन् । परिवारमा आठ सदस्य रहे पनि हिजोआज घरमा कर्णको दम्पतीमात्रै छन् । उनले एउटा दुहोनो भैंसी पनि पालेका छन् भने ३२ रोपनी क्षेत्रफलको जग्गामा लौठ सल्ला, १० रोपनीमा अलैँची, १५ रोपनीमा किबी, १२ रोपनीमा आलु, तीन रोपनीमा बुद्धचित्त लगाएका छन् । यसैगरी दुई रोपनी जग्गामा नर्सरी बनाएर किबीको बिरुवासमेत उत्पादन गरिसकेको बताए । उनले दैनिक पाँच जनालाई रोजगारीसमेत दिएका छन् । तामाङको घरमा काम गर्न तामाकोशी गाउँपालिका–२ झुलेबाट महिलाहरू गैरीमुदी आउने गरेका छन् । उनको किबीको नर्सरीमा रेड, हेवाड, मन्टी र एलिसन जातको २० हजार किबीको बिरुवा उत्पादन हुँदै आएको छ ।
यस्तै, उनलाई पछिल्ला वर्षहरूमा सरकारी निकायले समेत सहयोग गर्ने छ । चालु आर्थिक वर्षमा बैतेश्वर गाउँपालिकाले मौरी स्टोर गर्ने कारखाना घर निर्माण गर्न सात लाख ५० हजार रुपैयाँ अनुदान सहयोग गरेको तामाङले सुनाए । गतवर्ष पनि उनलाई कृषि ज्ञान केन्द्रले केही अनुदान सहयोग गरेको थियो । उत्पादन गरेको वस्तुलाई बिक्री गर्ने बजार र सिँचाइको भने केही अभाव रहेको तामाङले गुनासो गरे । नजिकमा बजार नहुँदा मह, बुद्धचित्त, किबीको बिरुवा, अलैँची, आलु, जापानिज नास्पातीको बिरुवा बेच्न तामाङलाई समस्या भएको छ । नर्सरीमा हुर्केका बिरुवा बेच्न तयार भए पनि समयमा बिक्री गर्न नसकेको तामाङले सुनाए ।