काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिन वर्तमान सरकारले अघि बढाएको प्रक्रियाको राष्ट्रिय जनमोर्चाले विरोध गरेको छ । प्रचण्ड नेतृत्वको वर्तमान सरकारले गणतन्त्र दिवसको दिन टिकापुर काण्डमा दोषी ठहर भई सर्वस्वसहित जन्मकैदको सजायँ भोगिरहेका चौधरीलाई आममाफी दिने प्रक्रिया अघि बढाएको छ ।
चौधरीलाई आममाफी दिने कार्यले दण्डहीनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण बढ्ने जनमोर्चाको ठहर गर्दै त्यो प्रक्रियालाई रोक्न जनमोर्चाले माग गरेको छ ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शुक्रबार जारी गरेको विज्ञप्तिमा लेखिए अनुसार- ‘टिकापुर हत्याकाण्ड कुनै राजनीतिक नभएर आम नरसंहारको घटना थियो । त्यो घटनाका मुख्य नाइकेलाई गणतन्त्र दिवसको उपलक्ष्यमा आममाफी दिइ कैद मिनाहा गराउन सरकारले अगाडि बढाएको प्रक्रिया आफ्नो सरकार टिकाउन गरिएको राजनीतिक लेनदेन वा सौदावाजी मात्र हो,।’