काठमाडौं , राजस्व अनुसन्धान विभागले राजस्व मारेर रातारात धनी बनेका विवादास्पद व्याक्ति रुपेश पाण्डेलाई सुराकी बनाएर व्यापारी, व्यवसायीहरूलाई दुःख दिनेगरेको थाहा भएको छ । १५/२० वर्षअघिसम्म बारा, पर्साको सीमाक्षेत्रबाट साइकलमा पोको बोकेर यताका माल उता र उताका माल यता गर्ने ‘पोके व्यापारी’ पाण्डे अहिले मुलुकमा धनीमानीहरूको सूचीमा रहेका व्याक्ति हुन् ।
सीमाक्षेत्रको पोके व्यापारी पाण्डे पछि वीरगञ्ज–काठमाडौं रात्रिबसको खलासी बसेर धन्दा विस्तार गरेका थिए । प्रहरी प्रशासनसँग मिलेर त्यही धन्दालाई विस्तार गर्दागर्दै पाण्डे अहिलेको अवस्थामा आइपुगेको समाचारसूत्रहरूले जनाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमान सिंह कार्की प्रमुख आयुक्त हुँदा पाण्डेले विशाल बजारअगाडि खोलेको अम्बे सारीमा राजस्वले छापा मार्दा जुत्ता नफुकाली पसलमा टेकेको भनेर सशस्त्र प्रहरीका हाकिम शैलेन्द्र खनालले छापा मार्न जाने सशस्त्र प्रहरीहरूलाई स्पष्टीकरण सोधेका थिए । रात्रिबसबाट पाण्डेले राजस्व छलेर सामान ल्याउँदादेखि नै पाण्डे र खनालको घाँटी जोडिएको थियो । प्रहरी संरक्षणमा धन्दा गरेकाले पाण्डे रातारात धनी बनेका हुन् ।
पाण्डेलाई धन्दा गर्न प्रहरीकै भ्रष्टाचारको रकम प्रयोग भएको कुरालाई २०७८ साल पुस २२ गते कान्तिपथ र दरबारमार्गमा रहेको महँगो मूल्यको विदेशी मदिरा बिक्री गर्ने ग्रीनलाइन स्टोरका सञ्चालक अमित अग्रवाल र अभिशेक अग्रवालको परिवार पसलमा तालाबन्दी गरेर नेपालबाट भागेर भारत पुगेपछि झनै खुलस्त हुनपुुगेको थियो । अग्रवाल परिवार पाण्डेसँग लिएको मिटरब्याजको किस्ता तिर्न नसक्ने भएर थला परेपछि व्यवसाय अलपत्र छाडेर नेपालबाट पलायन भएको थियो । पाण्डेले सशस्त्र प्रहरीको तत्कालीन महानिरीक्षक शैलेन्द्र खनालको भ्रष्टाचारको रकम अग्रवाललाई मिटरब्याजमा लगाएको आरोप लागेको थियो । अग्रवालले भारतबाटै उनीहरूसँग डिल गरेर सहमति गरेपछि नेपाल फर्खिएका थिए । त्यतिबेला खनाल अमेरिका पुगेका थिए । खनालको संरक्षणमा धन्दा गर्दै आएका पाण्डेले राजस्व अनुसन्धान विभागका लागि सुराकीको काम गरेर अन्य व्यापारी व्यवसायीलाई अप्ठ्यारो पार्नेगरेको व्यवसायीहरूबाटै अनौपचारिकरुपमा आरोप लगाउने गरेका छन् ।
पाण्डेले केही व्यवसायीहरूलाई त सडकमा पु¥याइदिने धम्की समेत दिनेगरेको स्रोतको दाबी छ । पाण्डेले त्यसरी धम्क्याउनुपछिको तागतचाहिँ प्रहरी प्रशासनसँगको हिमचिम र राजस्व प्रशासनसँगको साँठगाँठ रहेको बुझिएको छ । पाण्डेले तर्साएर आफूले मगाउने सामानमा चाहिँ अहिले पनि राजस्व छल्ने गरेको स्रोतको दाबी छ ।