काठमाडौं, नेपाल राष्ट्र बैंकले क्रिप्टो करेन्सीको कारोबारमा प्रतिबन्ध लगाए पनि क्रिप्टो कारोबारमा नेपालको कुल बजेटजत्तिकै रकम लगानी भएको छ । विश्वमा सबैभन्दा धेरै क्रिप्टोमा लगानी भएका देशहरूको सूचीमा नेपाल १६औँ स्थानमा रहेको पाइएको छ । क्रिप्टो कारोबारमा पहिलो स्थानमा रहेको भारतमा एक सय ७० अर्ब अमेरिकी डलरको कारोबार हुनेगरेको छ भने १६औँ स्थानमा रहेको नेपालबाट साढे १२ अर्ब अमेरिकी डलर अर्थात् १६ खर्ब २५ अर्ब रुपैयाँको लगानी भएको पाइएको छ ।
राष्ट्र बैंकले पटक–पटक क्रिप्टो कारोबार नगर्न सूचना निकाल्ने गरेको छ र यसलाई अवैध भन्दै आएको छ । नियन्त्रण गर्नुपर्ने निकाय मानिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग कुनै कारोबार नभएको जसरी मौन बसेको छ । त्यस्तै अवैध कारोबारको अनुसन्धान गर्नुपर्ने प्रधानमन्त्री कार्यालयअन्तर्गतको अर्को निकाय राजस्व अनुसन्धान विभाग क्रिप्टो कारोबारीको प्यान नम्बर नपाएको बहानामा छटपटाएको जस्तो बहानाबाजी गरेर दिन बिताइरहेको छ ।
जब कि क्रिप्टो कारोबार अवैध कारोबार हो र त्यो कतै दर्ता भएको हुँदैन । त्यस्तो कारोबार कसले प्यानमा दर्ता गरेर देला र राजस्व अनुसन्धान विभागले अनुसन्धान अघि बढाउने हो, त्यो हेर्न प्रतीक्षा गरिरहनुपर्ने भएको छ । नितान्त मोबाइल एप्लिकेसनको आधारमा गरिने कारोबार भएकाले अन्य कम्पनीको करोबारको अनुसन्धान गरेजस्तो गर्न खोज्दा राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभाग क्रिप्टो कारोबारको अनुसन्धानको सन्दर्भमा अन्यौलमै छन् ।
गत वर्ष तत्कालीन महानिर्देशक प्रकाश पौडेलको कार्यकालमा राजस्व अनुसन्धान विभागले ४९ करोड रुपैयाँको दुईवटा क्रिप्टो कारोबारसम्बन्धी मुद्दा दायर गरेको थियो । त्यसैगरी नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले ६६ करोड रुपैयाँको क्रिप्टो कारोबार गरेको मुद्दा दायर गरेको थियो । यीबाहेक सरकारका तर्फबाट अवैध क्रिप्टो कारोबारका बारेमा कुनै कारबाही भएको छैन । अनुसन्धान गर्ने मुख्य जिम्मेवारी पाएको निकायले प्रविधिको प्रयोग गरेर हुने आर्थिक अपराधमा सामान्य अध्ययनसम्म गर्न नचाहने कामचोर र अतिरिक्त आम्दानीमुखी कर्मचारीहरू तथा क्रिप्टोको अवैध कारोबारबाट निर्बाध कमाइरहेको गिरोहबीच भित्री सेटिङ रहेको आशंका गरिएको छ ।
सरकारमा रहेकाले जतिसुकै अनभिज्ञता प्रकट गरे पनि घरेलु क्रिकेट लिगमा अनलाइन जुवा खेलाउने कम्पनी ‘वानएकबेट’ले क्रिकेट संघसँग सम्झौता गरेर खुलेआमरूपमा सट्टेबाजी गरेको थियो र पैसा कमाउनका लागि म्याच फिक्सिङ गरेको अवस्थामा प्रहरीले मुद्दा समेत चलाएको थियो । युवाहरूलाई विदेशमा बेचेर रेमिट्यान्स संकलन गरेर सगौरव चलेको मुलुकमा तिनै रेमिट्यान्स पठाउने युवाहरू बढी कमाउने लोभमा अवैध क्रिप्टो कारोबारमा लगानी गर्नेतर्फ आकर्षित हुँदै गएका छन् ।
रेमिट्यान्स आउने मात्रा बढ्दै गएको देखिए पनि क्रिप्टो कारोबारमा नेपालको बजेटजत्तिकै रकमको कारोबार कहाँबाट कसरी भयो भन्ने एउटा प्रश्न खडा भएको छ । तर क्रिप्टोको कारोबारमा जोडिन मोबाइल चाहिन्छ । पासपोर्ट र रकम अनिवार्य हुनुपर्दछ । क्रिप्टो कारोबारमा क्रिप्टो क्वाइन किन्नु प¥यो । आ–आफ्नो मूल्यअनुसारको क्रिप्टो क्वाइन पाइन्छ । मूल्य बढ्छ भन्ने आशामा नेपालीहरूले सेयरमा लगानी गरेजस्तै ठानेर क्रिप्टोमा लगानी गरेको हुनसक्छ ।
त्यो क्वाइनको मूल्य कहिले बढ्छ त कहिले घट्ने गर्दछ । कुनै बेला एउटा बिट क्वाइनको मूल्य ६९ हजार डलर थियो र त्यो घटेर १६ हजारमा झरेको थियो, अहिले फेरि केही बढेको छ, यो कुनै उत्पादनमूलक उद्योग कारखाना होइन, यो भर्चुअल पैसा हो । नेपालमा सिधै कारोबार हुँदैन । डलरमा कन्भर्ट गरेर मात्र कारोबार हुनेगर्दछ । त्यही क्रिप्टोको कारोबारले एलसाल्माडोर भन्ने मुलुक टाट फर्किएको छ । हाम्रोजस्तो सानो अर्थतन्त्र भएको मुलुकका लागि क्रिप्टो कारोबार अत्यन्त घातक हुन्छ र छिनमै मुलुक टाट पल्टिन समेत बेर लाग्दैन । तर पनि यस्तो अवस्थामा समेत नेपालको बजेटजत्तिकै रकम अवैध क्रिप्टो कारोबारमा लगानी भएको पाइनुले नेपालको अर्थतन्त्र तासको घरजस्तै हुनसक्ने देखिन्छ ।