काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेकाले डेङ्गुको सङ्क्रमणबाट जोगिन आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको संख्या बढ्ने भएकाले मन्त्रालयले डेङ्गु सङ्क्रमणबाट जोगिन आग्रह गरेको हो । मन्त्रालयले एक सूचना जारी गर्दै डेङ्गुको सङ्क्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने भन्दै सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ ।
यस्तै, सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिनसमेत आग्रह गरेको छ । ‘पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुल लार्भा भएर निस्कन्छ र वयस्क लार्भा लामखुट्टे बन्छ,’ इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले भने ।