काठमाडौं । भवन निर्माणमा पनि गो ग्रिन (हरियालीतिर जाऔं) धारणाका साथ अगाडि वढ्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फम्स (एससीएईएफ) नेपालले राजधानीमा गरेको ‘ट्रेनिङ अफ ग्रिन विल्डिङ्स’ विषयक तालिम कार्यक्रममा विज्ञहरूले निर्माण सामाग्रीहरूको प्रयोग गर्दा वातावरणमैत्री निर्माण सामग्रीको प्रयोगमा जोड दिएका हुन् ।
कन्स्ट्रक्सन विजनेस डेभलपमेन्टल इम्प्लिमेन्टसन कमिटी र फेडेरेसन अफ कन्ट्याक्टर्स एसोसिएसन अफ नेपालको सहकार्यमा तालिम सञ्चालन भएको थियो । उक्त तालिममा ग्रिन कन्स्ट्रक्सन मेटेरिअल्स् विषयमा प्रशिक्षण दिँदै इको प्यानल नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले निर्माण सामग्रीको छनोट गर्दा वातावरण विनास नगरी उत्पादन गरिएका वातावरणमैत्री निर्माण सामग्रीको छनोट हुनुपर्नेमा जोड दिए । ‘अहिले संसारकै एउटा मुख्य समस्या वातावरण प्रदूषण हो’, इन्जिनियर दुवालले भने, ‘त्यसकारण तपार्इंहरूले पनि घरको डिजाइन गर्दा योअनुसारको निर्माण सामग्रीको प्रयोगमा जोड दिनुहोस् ।’ आफूहरूले पनि लामो समयदेखि वातावरणमैत्री निर्माण सामग्रीको उत्पादन गर्दै आएको चर्चा गर्दै उनले वातावरण विनास हुनबाट जोगाउनु, वातावरण प्रदूषण हुन नदिनु नै अहिलेको नयाँं पुस्ताको मुख्य जिम्मेवारी रहेको बताए । ‘काठमाडौं कंक्रिटको सहर बन्यो भनेर धेरै आलोचनाहरू आइरहेको हामीले सुनेका छौं’, उनले थपे, ‘त्यस्तो आलोचना गर्न नसकिने ठाउँं बनाउन म युवा पुस्तासँंग अनुरोध गर्छु ।’