काठमाडौँ । १६ औँ गणतन्त्र दिवसका अवसरमा सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल सरिक भएका छन् । समारोहमा हेलिकप्टरद्वारा गणतन्त्र दिवस २०८० लेखिएको ब्यानर प्रदर्शनका साथै पुष्पवृष्टिका गरिएको थियो । त्यस अवसरमा काठमाडौँ, भक्तपुर र ललितपुर महानगरपालिका क्षेत्रका परम्परागत सांस्कृतिक झाँकी प्रस्तुत भएका छन् ।
गणतन्त्र मूल समारोह समितिद्वारा आयोजित समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरे । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ सहभागी भएका थिए ।
समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालद्वारा मार्चपास गरियो । त्यस अवसरमा सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले राष्ट्र र राष्ट्रियता उजागर गर्ने गीत–सङ्गीतका धुन प्रस्तुत गरिएको थियो । समारोहस्थल सैनिक मञ्चको पूर्व, पश्चिम र दक्षिण भागमा गणतन्त्र दिवस २०८० लेखिएका ‘ब्यानर’ प्रस्तुत गरिएको थियो । कार्यक्रमको नेपाल टेलिभिजन र रेडियो नेपालले प्रत्यक्ष प्रसारण गरेका थिए ।