काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दोलखामा माउन्टेन बाइक रेसको आयोजना गरिएको छ । यति ओरिजिन्सको आयोजना र भीमेश्वर नगरपालिकाको सहकार्यमा शनिबार रेसको उद्घाटन गरिएको हो । माउन्टेन बाइक रेस समुद्री सतहबाट तीन हजार सात सय ६२ मिटर उचाइमा रहेको कालिञ्चोकबाट सुरु भएर आठ सय ४२ मिटरको उचाइमा रहेको नागदहमा आएर टुंगिने भीमेश्वर नगरपालिका प्रमुख ईश्वर नारायण मानन्धरले जानकारी दिए ।
शनिबारदेखि सुरु भएको दौड सोमबारसम्म चल्नेछ । यस्तो किसिमको साहसिक खेल देशकै पहिलो भएको मानन्धरले बताए । साहसिक खेलको सुरुवात गर्न पहिलो सिजनमा स्थानीयस्तरको रेसको सुरु गरिएको उनले जानकारी दिए । यस्तै, रेसको दोस्रो सिजन आगामी नोभेम्बरमा अन्तर्राष्ट्रियस्तरको हुने आयोजकले जनाएको छ ।
यस माउन्टेन बाइक रेसले धार्मिक पर्यटन र प्राकृतिक पर्यटनको रूपमा भीमेश्वर नगरपालिकाका साथै दोलखालाई चिनाउने बताइएको छ । यस्तै, साहसिक खेलको नयाँ गन्तव्यको रूपमा दोलखालाई अन्तर्राष्ट्रिय रूपमा स्थापित गर्ने उद्देश्य लिएको नगरपालिकाले जनाएको छ । रेसमा नेदरल्यान्ड, मेक्सिको र नेपालका गरी ४० जनाको सहभागिता रहेको छ । रेसको उद्घाटन प्रतिनिधि सभा सदस्य गंगा कार्कीले गरेका हुन् ।