काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले हालै संसद्मा राखेको नक्सामा नेपाली भूमि राखेकोबारे भारतसँग कुरा गरेर हटाउन लगाउनुपर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।
मंगलबार राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले त्यति काम गर्न नसक्ने हो भने भारत भ्रमणमा नगए हुने समेत बताएका छन् ।
‘नेपाली भूमि अतिक्रमण गरेर, नेपालको भूमि संसदभित्र हालेर भारतजस्तो पुरानो र नमुना लोकतन्त्र भएको भनिएको देशले यो व्यवहार गर्छ भने त्यसलाई उचित भन्न सकिँदैन’, अध्यक्ष ओलीले भने ।
नमुना लोकतन्त्रको कुरा गर्ने भारतीयहरूले छिमेकी देशसँग गर्ने व्यवहार नगरेको पनि अध्यक्ष ओलीले बताएका छन् । हालै भारतको नयाँ संसद् भवनमा राखिएको मुरल (भित्ते चित्र) मा नेपाली भूमि लुम्विनी, कपिलवस्तु र विराटनगर रहेको सार्वजनिक भएको छ ।