काठमाडौं । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई राजनीतिक, वैचारिक, साङ्गठनिक र साँस्कृतिक दृष्टिले नयाँ बनाउने चुनौति रहेको बताएका छन् ।
उनले भने, “पार्टीका सबै निकाय व्यवस्थित बन्न नसक्दा सल्लाहकार र ज्येष्ठ कम्युनिष्ट मञ्चमा रहेका कमरेडलाई उचित सम्मान र जिम्मेवारी दिन सकिएको छैन ।” उनले पार्टी राम्रो नभए त्यसको असर सबैतिर पर्ने भएकाले पार्टीलाई राम्रो बनाउन विचारलाई स्पष्ट गर्ने, सङ्गठन र अनुशासनलाई कायम गर्ने र संस्कृति, आचरण र कार्यशैलीलाई सच्याउने कुरा नै मुख्य भएको बताए ।
प्रधानमन्त्री दाहालले विगतका अनुभवका आधारमा यसपटक सरकारको नेतृत्व भिन्न ढङ्गले सङ्कल्पका साथ लिएको बताए । उनले देशको अहिलेको आर्थिक स्थितिलाई सहजीकरण गर्ने र जनतामा सेवा प्रवाहलाई सरल गर्ने कार्यमा सरकार केन्द्रित भएको बताए ।
प्रधानमन्त्री दाहालले पार्टी, आन्दोलन र नेतृत्वप्रति जनतामा आशा रहेको उल्लेख गर्दै सोही आशाको बलमा आफूहरु सरकारको नेतृत्वमा आएको स्पष्ट गरे । उनले भने, “हामीले सरकारको मात्र नेतृत्व गरेका छैनौँ, राष्ट्रिय सहमतिको नेतृत्व लिन पनि सक्षम भएका छौँ ।”
उनले भने, “अब राजनीतिक परिवर्तन त भयो तर राष्ट्र र जनताको जीवनमा र यसको प्रतिष्ठा अभिवृद्धि गर्ने कुरामा खासै परिवर्तन भएको छैन । यसको फाइदा जनतालाई भ्रम दिनेहरुबाट हुन थालेको छ । त्यसका लागि अब जनतामा नयाँ आन्दोलन वा नयाँ खालको क्रान्तिको आवश्यकता भएको छ ।”
अनियमितता, भ्रष्टाचारसम्बन्धी अन्य फाइल पनि सरकारले क्रमशः खोतल्ने जानकारी दिँदै प्रधानमन्त्री दाहालले ठूल्ठूला भ्रष्टाचारका काण्डको खोजीनीति गरिने बताए । उनले भने, “यसले जनतामा अब केही हुन्छ भन्ने विश्वास जगाउँछ । हामीले वर्षौंदेखि थुप्रिएर बसेको विसंगति रातारात अन्त्य हुने कुरा पनि होइन ।”
प्रधानमन्त्री दाहालले जनताको पक्षमा काम गर्ने माओवादीबाट भ्रष्टाचार नियन्त्रण, सुशासन अभिवृद्धि र समृद्धि सम्भव भएको बताए । “अरुले गर्दा यो सम्भव हुने कुरा होइन । त्यही दृढ सङ्कल्पका साथ भ्रष्टाचारविरुद्धको आन्दोलन सुरु गरिएको हो । यो विद्यमान विकृति र विसंगतिका विरुद्धको आन्दोलन हो”, उनले भने ।
प्रधानमन्त्रीले भोलिदेखि हुने भारत भ्रमणका बारेमा स्पष्ट गर्दै नेपाल राष्ट्रको हितमा दुई देशबीच केही नयाँ होस् भन्ने आफूले चाहेको बताए । उनले अगाडि भए, “भोलिसम्मका लागि नेपाली जनताले सम्झने केही काम सम्पन्न होउन् भन्ने मैले चाहेको छु ।”
देशभित्र मात्र होइन देश बाहिर पनि आफूले राम्रो मात्र गर्ने राम्रो गर्न नसके नराम्रो चै गर्दै नगर्ने सङ्कल्प गरेको उनले बताए । प्रधानमन्त्री दाहालले भने, “केही राम्रो गर्नका लागि बिहानदेखि बेलुकासम्म म युद्धको बेलामा भन्दा व्यस्त छु ।” उनले विद्युत्, सीमा, पारवहनलगायत विषयमा राम्रो गर्ने आफ्नो चाहना भएको बताए ।