काठमाडौं । नेपाल वनस्पति घिउ तेल उत्पादक संघले कच्चा पदार्थमा भन्सार महसुल दर एक प्रतिशत नै कायम गर्न माग गरेको छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले कच्चा पदार्थमा भन्सार महसुल १० प्रतिशत कायम गरेकाले यसलाई साविककै अवस्था कायम गर्न संघले माग गरेको हो । भन्सार महसुल दर १० प्रतिशत हुँदा अत्यावश्यक वनस्पति घिउ तेल उत्पादन गर्ने उद्योगहरू धराशायी भई बन्द हुन जाने अवस्थामा पुग्ने संघले जनाएको छ । यसले समग्र अर्थतन्त्रमा समेत प्रत्यक्षरूपमा गम्भीर असर पार्ने जानकारी गराएको छ । यस्तै, संघले उक्त दर पुनरावलोकन नभए उपभोक्ताहरूलाई प्रतिलिटर १५ रुपैयाँभन्दा बढीले मूल्यवृद्धि हुनेमा समेत ध्यानाकर्षण गराएको छ ।
संघका अनुसार छिमेकी देश भारत सरकारले २०७९ जेठ १० गतेवाट उच्च महँगीको चापबाट उपभोक्ताहरूलाई राहत दिनका लागि खाने तेलको भन्सार महसुल शून्य प्रतिशत र जीएसटी पाँच प्रतिशत मात्र कायम गरेको छ । नेपालमा कच्चा पदार्थमा १० प्रतिशत भन्सार महसुुल र मूअकर १३ प्रतिशत गरी सरदर २५ प्रतिशत कर लाग्दै आएकोमा यसबाट स्वदेशी उद्योगहरूको उत्पादन लागतमा वृद्धि हुन गई चोरी–पैठारी बढेपछि नेपाल सरकारले ‘आर्थिक ऐन २०७९ को दररेट संशोधनसम्बन्धी’ नेपाल राजपत्र २०७९ भदौ २३ मार्फत १० प्रतिशत भन्सार महसुललाई एक प्रतिशत कायम गरेको थियो ।