काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छ जना पदाधिकारीहरूलाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक सञ्जय सिंह थापाका अनुसार बूढानीलकण्ठ नगरपालिका–९ स्थित श्री एकता बुद्ध बचतको आठ करोड १८ लाख ८९ हजार सात सय ९५ रुपैयाँ हिनामिना गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सोही संस्थाका कार्यकारी अध्यक्षसहित छ जना पदाधिकारीहरूलाई मंगलबार काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूमा बूढानीलकण्ठ नगरपालिका–९ बस्ने ७२ वर्षीय भानुकुमार शर्मा, ६७ वर्षीय प्रमोदकुमार न्यौपाने, ५० वर्षीय सोमलाल श्रेष्ठ, ५२ वर्षीय वीरबहादुर तामाङ, सोही नगरपालिका–८ बस्ने ३४ वर्षीय शम्भु कार्की र सोही नगरपालिका–९ बस्ने गोरखा पालुङटार नगरपालिका–७ घर भएका ५८ वर्षीय रामकुमार श्रेष्ठ रहेको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । पक्राउ परेका छ जनामध्ये शर्मा उक्त सहकारीका कार्यकारी अध्यक्षको भूमिकामा रहेका थिए । यीबाहेकका प्रमोदकुमार न्यौपाने, सोमलाल श्रेष्ठ, रामकुमार श्रेष्ठ, वीरबहादुर तामाङ र शम्भु कार्की भने क्रमशः उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, ऋण संयोक र व्यवस्थापकको भूमिकामा रहेको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।