काठमाण्डौं,वैशाख १
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको लामो समयदेखि देखिएको पुँजीगत लाभकरको एउटा विवाद अन्त्य भएको छ । एनसेलले आइतबार एकै दिन १४ अर्ब ३३ करोड ५६ लाख ५२ हजार पाँच सय ४६ रुपैयाँ ठूला करदाता कार्यालयमा जम्मा गरेको छ । आइतबार जम्मा गरेको उक्त रकमसहित एनसेलले आयकरबापतको २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार पाँच सय ४६ रुपैयाँ बुझाएको छ ।
एनसेलले आयकर ऐन २०५८ बमोजिम उक्त रकम बुझाएको हो । एनसेलले रकम बुझाएको कारण राजस्व संकलनमा ठूलो योगदान मिलेको छ । चैत महिनामा लकडाउनको कारण आर्थिक गतिविधि ठप्प हुँदा राजस्व संकलन चालू आर्थिक वर्षमै सबैभन्दा कमजोर
बनेको थियो ।
एनसेलले पुँजीगत लाभकरबापतको २२ अर्ब ४४ करोड ५३ लाख ९७ हजार नौ सय ५५ रुपैयाँमध्ये गत पुस १५ गते चार अर्ब ५० करोड रुपैयाँ र यही चैत १८ गते चार अर्ब ६० करोड रुपैयाँ ठूला करदाता कार्यालयमा जम्मा गरेको थियो । एनसेलले ब्याजसहित उक्त २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार पाँच सय ४६ रुपैयाँ बुझाएको हो ।
ठूला करदाता कार्यालयको गत मंसिर १९ गतेको निर्णयअनुसार एनसेलका नाममा निर्धारित भएको पुँजीगत लाभकरबापतको उक्त रकम ब्याजसहित सरकारी कोषमादाखिला भएको हो । पुँजीगत लाभकरबापतको रकम नबुझाउँदासम्म एनसेलको सिम बहिष्कार गर्ने आन्दोलन नै चलेको थियो ।
पुँजीगत लाभकारको विषयलाई लिएर विभिन्न समूहले एनसेलमाथि आक्रमण गर्दै आएको छ । कतिपयले अदालतको कारण एनसेलले कम रकम पुँजीगत लाभकार बुझाएको आरोप पनि लगाउने गरेका छन् । यद्यपि एनसेलले अदालतले तोकेअनुसार रकम बुझाएर कानुनलाई स्वीकार गरेको देखिएको छ ।