काठमाडौं । शुक्रबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मेडियकेयर अस्पतालको अनुगमनपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न र असहायको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएका छन्।
मन्त्री बस्नेतले पत्रकारहरूसँगको कुराकानीमा आर्थिक अवस्था कमजोर भएका बिरामीको निःशुल्क उपचारका लागि दस प्रतिशत शय्या नछुट्याउने अस्पतालहरूलाई कारबाही गर्ने बताएका हुन्।
मन्त्री बस्नेतका अनुसार अस्पताल सञ्चालनको स्वीकृति लिँदा नै आर्थिक अवस्था कमजोर भएका बिरामी, असहाय तथा बेवारिसे बिरामीको निःशुल्क उपचारका लागि दस प्रतिशत शय्या छुट्याउने प्रावधान रहेकोमा पूर्ण रूपमा पालना नभएको उनको भनाइ छ।
बुधबार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले निःशुल्क उपचारका लागि शय्या नछुट्याउने ६८ अस्पतालको सूची मन्त्री बस्नेतलाई बुझाएका थिए।
मन्त्री बस्नेतले अस्पताललाई एक आर्थिक वर्षमा विपन्न नागरिकलाई निःशुल्क उपचार गरेको विवरण बुझाउन निर्देशन दिएका छन्। 'सम्झौता भएको भन्दा बढी दिएको रहेछ भने हामी त्यसै किसिमले हेर्छौं,' उनले भने, 'गरेको छैन भने हामी त्यही अनुसारले मन्त्रालयको कानूनी परिधिभित्र रहेर कारबाही सुरू गर्छौं।'