काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डाटा पोस्टपेड–६३६’ प्याकेजलाई अझै सुविधायुक्त बनाएको जनाएको छ । टेलिकमले पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध गराएको यो अफरअन्तर्गत छ सय ३६ रुपैयाँमा ३० दिनसम्म कम्पनीकै नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिने छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने छ । यस अफरमा अन नेट १५० वटा एसएमएस पठाउन सकिने सुविधासमेत उपलब्ध रहेको छ । त्यसैगरी यसअन्तर्गत पहिले प्रत्येक दिन ३०० एमबी डाटा प्रयोग गर्न सकिने व्यवस्था भएकोमा अब एकमुष्ट नौ जीबी डाटा उपलब्ध हुने कम्पनीले जनाएको छ । पहिले सो ३०० एमबी डाटा सकिएमा दैनिक ६४ केबीपीएसको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध भएकोमा अब आवश्यकताबमोजिम नौ जीबी डाटा जतिबेर पनि प्रयोग गर्न सकिन्छ । यो डाटा सकिएमा ग्राहकले सुलभ दरको एड अन प्याक खरिद गर्न सक्नेछन् ।
सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६ प्याकेज प्राप्त गर्नका लागि ग्राहकले स्टार१४१५स्टार२स्टार२ह्याक्स डायल गर्नुपर्ने छ । साथै, कम्पनीको ‘नेपाल टेलिकम’ एपको पोस्टपेड रेन्टल प्याकेजअन्तर्गत पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । यस अफरबाट ग्राहकहरूले लाभ लिने कम्पनीको अपेक्षा रहेको उल्लेख गरेको छ ।