काठमाडौं । मर्जर तथा प्राप्ति प्रक्रिया सफल हुँदा एक सय ८५ वटा बैंक तथा फाइनान्स कम्पनीहरूको लाइसेन्स अर्थात् अनुमति खारेज भएको छ । नेपालमा हालसम्म दुई सय ५९ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपछि २०७९ चैत्र मसान्तसम्ममा कुल दुई सय ५९ वटा बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएका हुुन् । यसबाट एक सय ८५ वटा संस्थाको अनुमति खारेज हुनगई कुल ७४ वटा संस्था मात्र कायम रहेको छ । राष्ट्र बैंकका अनुसार यसरी लाइसेन्स खारेज हुने बैंक तथा वित्तीय संस्थाहरूमा तत्कालीन किष्ट बैंक, ग्रान्ड बैंक, प्रभु फाइनान्स, सीएमबी फाइनान्स, भिबोर विकास बैंक, एचएन्ड बी डेभलपमेन्ट बैंक, देव विकास बैंक, एनडीईपी डेभलपमेन्ट बैंक, सोसियल डेभलपमेन्ट, सूर्यदर्शन फाइनान्स, टुरिजम डेभलपमेन्ट बैंक, क्लिन इनर्जी डेभलपमेन्ट बैंक, बैंक अफ काठमाडौं आदि रहेका छन् ।
बैंक तथा वित्तीय संस्थाहरूको कुल संख्या भने यस अवधिमा एक सय १९ वटा कायम भएको छ । सोअनुरूप २१ वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक, १७ वटा फाइनान्स कम्पनी, ६३ वटा लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूको कुल शाखासंख्या भने ११ हजार छ सय ४३ वटा पुगेको छ ।
जसमध्ये वाणिज्य बैंकहरूको कुल शाखासंख्या पाँच हजार ६६, विकास बैंकहरूको एक हजार एक सय ३०, फाइनान्स कम्पनीहरूको दुई सय ८३ र लघुवित्त वित्तीय संस्थाहरूको पाँच हजार एक सय ६४ वटा शाखाहरू सञ्चालनमा रहेका छन् । यसअघि अर्थात् २०७९ असार मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरूको कुल शाखासंख्या ११ हजार पाँच सय २८ रहेको थियो ।