काठमाडौं । बीवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंकले नेपालमा विद्युतीय सवारी साधनमा प्रयोग हुने ब्याट्री व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ । सरकारले आगामी आर्थिक वर्षमा ल्याएको बजेटमा पनि विद्युतीय सवारीको ब्याट्री व्यवस्थापनको विषयमा बोलेको उल्लेख गर्दै कम्पनीले त्यसलाई सकारात्मकरूपमा लिएको उल्लेख गरेको छ ।
विद्युतीय साधनको सबैभन्दा चुनौतीपूर्ण मानिएको ब्याट्री व्यवस्थापन गर्न कम्पनी निरन्तर लागि रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘सवारीबाट निस्कने पुराना ब्याट्रीको उचित व्यवस्थापनको कैयौँ तरिका छन् । पावर ब्याकअप गर्नेदेखि पूर्णरूपमा ड्रेन भएको ब्याट्री रि–साइकलको लागि बाहिर पठाउने विषयमा हामीले सम्पूर्ण तयारी गरेर बसेका छौं’, कम्पनीले भनेको छ, ‘हामी हरेक गाडीबाट निस्कने लिथियम आयोन ब्याट्रीको उचित व्यवस्थापन गर्न सक्षम छौं ।
साथै, प्रतिबद्धता व्यक्त गर्दछौँ ।’ यसले भविष्यमा हुन सक्ने ब्याट्रीको डम्पिङ साइटबाट नेपाललाई बचाउने कम्पनीको विश्वास छ । साथै, कम्पनीले बीवाइडीका सम्पूर्ण ग्राहकलाई ढुक्क भएर कम्पनीका उत्पादनको प्रयोग गर्न पनि आग्रह गरेको छ । यस्तै, नवीन टेक्नोलोजी भएका साधन ल्याएर बिक्री गर्न कम्पनी सधैँ उत्तरदायी भएर काम गर्दै आएको र आगामी दिनमा पनि त्यही रफ्तारमा काम गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ ।